ईभी प्रयोगकर्ताका लागि सिप्रदीको सुविधा प्याकेज, जीवनभर निःशुल्क चार्जिङको घोषणा
वि.सं.२०८२ पुस ३० बुधवार १५:२६
shares

काठमाडौं, ३० पुस । सिप्रदीले नेपालमा विद्युत् सवारी (ईभी) प्रवर्द्धनलाई संस्थागत र दिगो बनाउने उद्देश्यसहित चार्जिङ तथा सेवा पूर्वाधारको व्यापक विस्तार गरेको छ। देशभर ईभीको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा सिप्रदीले १८५ भन्दा बढी चार्जिङ नेटवर्क र १६ भन्दा बढी ईभी–समर्पित सेवा केन्द्रहरू सञ्चालनमा ल्याउँदै आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको हो।
कम्पनीले राजधानी काठमाडौं उपत्यकासहित प्रमुख शहर, राजमार्ग तथा व्यावसायिक केन्द्रहरूमा चार्जिङ स्टेशनहरू विस्तार गरेको जनाएको छ। यसले लामो दूरी यात्रा गर्ने ईभी प्रयोगकर्ताहरूलाई समेत सहज चार्जिङ सुविधा उपलब्ध गराउने विश्वास लिइएको छ। सिप्रदीका अनुसार, चार्जिङ स्टेशनहरू आधुनिक प्रविधियुक्त, सुरक्षित र प्रयोगमैत्री बनाइएका छन्, जसले चार्जिङ समय घटाउनुका साथै सवारी सञ्चालनलाई थप प्रभावकारी बनाउनेछ।
ईभी सवारीको दीर्घकालीन कार्यक्षमता र प्रयोगकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदीले ब्याट्री डायग्नोस्टिक रिस्टोरेसन सुविधा पनि सञ्चालनमा ल्याएको छ। यस सुविधामार्फत ईभी ब्याट्रीको स्वास्थ्य अवस्था परीक्षण, क्षमताको मूल्यांकन, कार्यक्षमता सुधार तथा सम्भावित जोखिमको पहिचान गरिनेछ। कम्पनीका अनुसार, यो सुविधा नेपालमा ईभी क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो, जसले ब्याट्रीसम्बन्धी समस्यालाई समयमै समाधान गर्न सहयोग पुर्याउनेछ।
ग्राहकलाई थप आकर्षित गर्ने योजनाअन्तर्गत सिप्रदीले एक्सचेञ्ज क्याम्पमार्फत बुकिङ गर्ने ईभी ग्राहकहरूलाई सिप्रदी नेटवर्कभित्र जीवनभर निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ। यस सुविधाले ईभी प्रयोगकर्ताहरूको दीर्घकालीन सञ्चालन खर्च उल्लेखनीय रूपमा घटाउने र पेट्रोलियम इन्धनको विकल्पका रूपमा ईभीको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार, चार्जिङ नेटवर्क र सेवा केन्द्रको विस्तारले ईभी प्रयोगकर्ताहरूलाई छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्नुका साथै बिक्रीपछिको सेवामा समेत विश्वास बढाउनेछ। साथै, यस पहलले ईभी प्रयोगकर्ताहरूमा ‘रेञ्ज एङ्जायटी’ कम गर्दै देशभर ईभी सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्ने विश्वास गरिएको छ।
ऊर्जा संकट, इन्धन आयातमा निर्भरता र वातावरणीय प्रदूषणको चुनौतीबीच सिप्रदीको यो पहलले स्वच्छ ऊर्जामा आधारित यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। विद्युतीय सवारीको प्रयोग बढेसँगै कार्बन उत्सर्जन घटाउने, वातावरण संरक्षणमा योगदान पुर्याउने र दीर्घकालमा मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने कम्पनीको दाबी छ।
सिप्रदीले आगामी दिनमा समेत ईभी चार्जिङ नेटवर्कको संख्या थप विस्तार गर्ने, नयाँ सेवा केन्द्र स्थापना गर्ने तथा प्रविधि–आधारित सेवामा लगानी बढाउने योजना अघि सारेको छ। कम्पनीका अनुसार, निजी क्षेत्रको सक्रिय सहभागितामार्फत नेपाललाई विद्युतीय सवारीको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यका साथ सिप्रदी निरन्तर अघि बढिरहेको छ।
















