Dhulikhel Eco Banner new

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छः प्रधानमन्त्री कार्की

3.37K
shares

काठमाडौं, १३ चैत । अन्तरिम सरकारको नेतृत्व गर्दै आएकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो ६ महिने कार्यकाल सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै पदबाट बिदा लिएकी छन्।

२०८२ भदौमा ‘जेनजी’ जनआन्दोलनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै औपचारिक रूपमा बिदाइ लिएको घोषणा गरिन्।

उनले फागुन २१ गते सम्पन्न निर्वाचनलाई ऐतिहासिक उल्लेख गर्दै त्यसले मुलुकमा परिवर्तनको स्पष्ट जनादेश दिएको बताइन्। आफ्नो कार्यकालको समीक्षा गर्दै उनले सरकार लोकप्रियता र चुनावी एजेन्डामा मात्रै सीमित नभई बेथितिविरुद्ध कडा कदम चाल्न सफल भएको दाबी गरिन्।

ठेक्का लिएर काम नगर्ने र विद्युत् उपभोग गरे पनि महसुल नतिर्ने प्रवृत्तिविरुद्ध सरकारले ऐतिहासिक रूपमा कठोर कदम चालेको उनले उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले यसपटकको निर्वाचन परिणामले वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत आउँदैन भन्ने धारणा गलत सावित भएको बताइन्। नागरिकहरूले सुशासन र परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गर्दै अब बन्ने युवा नेतृत्वको सरकारले जनआकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरिन्।

त्यसैगरी, २०८२ मंसिर २४ मा आन्दोलनकारीसँग भएको सम्झौता तथा घाइतेहरूको उपचार र पुनःस्थापनाका बाँकी कामलाई नयाँ सरकारले प्राथमिकता दिनेमा उनले आशा व्यक्त गरिन्।

आफ्नो नेतृत्वमा सानो टोलीसहित मितव्ययी ढंगले काम गरिएको दाबी गर्दै उनले पारदर्शिता र जनभावनालाई केन्द्रमा राखेर अघि बढेको बताइन्।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाई दिँदै उनले नयाँ सरकारलाई स्वागत गर्न आफू आतुर रहेको उल्लेख गरिन्। सम्बोधनको अन्त्यमा उनले देशको उज्ज्वल भविष्यप्रति आत्मविश्वास व्यक्त गरिन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले आज देशको ४७औँ प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम तय भएको छ।