Dhulikhel Eco Banner new

सुपारी निकासिमा प्रतिबन्ध : विदेशी सुपारी निकासी गर्न ठूलो आर्थिक चलखेल, नेपाली सुपारी खेरजाँदै

8.35K
shares

काठमाडौं, १९ असार । नेपालमा उत्पादन हुने सुपारीमा भारतले प्रतिबन्ध लगाएको छ । भारतले आर्थिक वर्ष २०७०/०७१ देखि सुपारी निकासीमा प्रतिबन्ध लगाएको हो । निकासीमा प्रतिबन्ध लगाएका कारण नेपाली सुपारीले बजार नपाएर सड्ने गरेको छ । तर सरकारले त्यस तर्फ कुनै पहल नगरेको व्यवसायीहरुको गुनासो छ । यसै सेरेफेरोमा नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहोरासँग केटिएम भ्वाइसले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय सुपारीको व्यवसाय कस्तो छ ?

नेपाली सुपारीको मुख्य बजार भनेको भारत हो । तर भारतले लामो समयदेखि नेपाली सुपारी निर्यातमा प्रतिबन्ध लगाएको छ । जसका कारण नेपाली सुपारी गोदाममा नै सड्ने अवस्था सिर्जना भएको छ । तर विदेशबाट नेपाल आयात गरेर गैरकानुनी रुपमा नेपालको बाटा हुँदै सुपारी भारत भने गइरहेको अवस्था हो ।

नेपालमा उत्पादित सुपारीमध्ये ९० प्रतिशत भारतीय बजारमा खपत हुने हो । बाँकी रहेको १० प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुने हो । अहिले त्यहि १० प्रतिशत खपत भएको छ । बाँकी किसानसँगै होल्ड भएर बसेको अवस्था हो ।

विदेशबाट आयात गरेर गैरकानुनी माध्यबाट सुपारी भारत जाने गरेको छ । जसका कारण नेपाली सुपारीले बजार पाउन नसकेको अवस्था छ । केही मात्रामा आन्तरिक बजारमा खपत हुने बाहेक उल्लेख्य मात्रामा नेपाली सुपारी खेर जाने गरेको छ ।

नेपालमा सुपारी उत्पादनको अवस्था कस्तो छ ? वर्षेनि कति उत्पादन हुन्छ ?

नेपालको सुपारी उत्पादन हुने मुख्य जिल्ला भनेको झापा र मोरङ हो । यि जिल्लामा वार्षिक करिब ५० हजार मेट्रिकटन उत्पादन हुन्छ । तर अहिले नेपाली बजारमा केही मात्रामा खपत भएको बाहेक अरु सुपारी खेर जाने अवस्थामा रहेको छ ।

यसको आयु पनि धेरै लामो समय हुँदैन । धेरैभन्दा धेरै समयसम्म भण्डारण गर्ने भनेको २ वर्षसम्म मात्रै हो । भारत ठूलो मात्रामा सुपारी खपत गर्ने राष्ट्र हो । नेपालबाट निर्यात सुपारी यहि खपत हुने हो । तर अहिले नेपाली सुपारी निर्यातमा भारतले रोक लागाएको छ ।

अहिले उत्पादन भएको सुपारी खेर गइरहेको अवस्था हो ?

हो खेर गइरहेको छ । भारतले प्रतिबन्ध लगाइदिएको छ । नेपालमा केही मात्रामा मात्रै खपत हुन्छ । जसका कारण किसानहरु मारमा परेका छन् । भारत सरकारले केही कृषि उपजमा सहुलियत समेत दिएको छ । त्यसमध्ये सुपारी पनि हो । जस अनुसार भन्सार पनि छुट दिएको हुन्छ ।

नेपाली उत्पादन भारतमा बिक्री सहज होस् भनेर यस्तो सहुलियत दिएको हो । तर गैरकानुनी रुपमा अन्य देशबाट आयत गरेर नेपाली बस्तु भनेर भारत पठाउने कारणले गर्दा किसान मारमा परेको अवस्था हो ।

भारत सरकारले दिएको सहुलियतको दुरुपयोग भयो र यस्तो जानकारी भए पछि भारतले प्रतिबन्ध लगाएको हो । जसका कारण नेपाली उत्पादन मारमा परेको अवस्था छ ।

लामो समयदेखि निकासी रोकिएको छ ? अनि सबै खेर गएको अवस्था हो ?

कुनै पनि उत्पादनको निश्चित आयु हुन्छ । सुपारीको आयु भनेको करिब २ वर्ष जति हुन्छ । अहिले निर्यातमा रोक लगाएका कारण विग्रेर गइरहेको छ । एकातिर सरकारले विदेशी मुद्रा आभाव भयो भने अनि अर्को तिर सामान निर्यातमा सहजता सिर्जना गर्न नसक्नु दुखत हो । सबै त होइन अधिकाशं भने खर गइनै रहेको छ । त्यहि १० प्रतिशत आन्तरिक खपत हुने बाहेक अन्य त खेरै गइरहेको त हो नि ।

अहिले किसानले खेती गर्न छाडेको अवस्था हो ?

सुपारी एपटकट लगाएपछि लामो समयसम्म उत्पादन दिइनै रहन्छ । तर बेचेर भारतिय रुपैयाँ आम्दानी गर्ने अवस्था भने अहिले छैन् । तर किसानले विरुवा नै नासेको अवस्था भने होइन । वर्षेनि उत्पादन हुन्छ तर बजार पाउँदैन । यसरी भन्दा आम्दानी गुमेको अवस्था हो ।

सरकारसँग निकासी सहज बनाइदिनका लागि संघको तर्फबाट केही पहल गर्नु भएको छैन् ?

हामीले वाणिज्य मन्त्रालयमा बारम्बार जानकारी दिएका छौँ । सकेसम्म नेपाल सरकारले नै सुपारी इन्पुट गर्न आवश्यक छैन भने बन्द गरिदिनु परो भनेर बारम्बार अनुरोध गरेको अवस्था हो । तर सरकारले खासै ध्यान दिएको जस्तो लागेन ।

ठूलो आर्थिक चलखेलमा यस्तो भइरहेको छ । उनीहरुले नेपाल आयात गरेर भारत निकासी गर्दै आएका छन् । नेपाली किसानको सामान यतिकै खेर गएको छ । विदेशबाट डलरमा किनेर भारत पठाउने कार्य भने रोकिएको छैन् । मलेसिया र इन्डोनेसीयाबाट आयात गरेर दुई नम्बरी बाटोबाट भारत गइरहेको छ । जसबाट विदेशी मुद्रा समेत सञ्चित हुन सकेको छैन भने नेपाली सुपारीले बजार नपाउने समस्या रहेको छ ।

प्रतिबन्ध लाग्नुभन्दा पहिले कत्ति निकासी हुन्थ्यो ?

प्रतिबन्ध लाग्नुभन्दा पहिले वार्षिक २५ देखि ३० मेट्रिकटन सुपारी निकासी हुन्थ्यो । तर अहिले अवस्था त्यस्तो छैन् । यसको मूल्य भनेको प्रति किलोग्राम ९० देखि १२० रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । कृषि उत्पादनको मूल्य निश्चित नै हुन्दैन । तलमाथि भइनै रहन्छ ।

सरकारले के गर्दा यो व्यवसायलाई सहज हुन्छ ?

विदेशबाट आयात गर्ने भनेको नै भारत निकासी गर्नका लागि हो । त्यसैले आयतामा नै रोक लगाउनु पर्छ । जसबाट नेपाली उत्पादनले बजार पाउन सक्छ । आयात गरेर भारत पठाउँदा डलर विदेश गयो भने नेपाली किसानले उत्पादन गरेको सामनले बजार नपाउने समस्या आयो ।

भारत सरकारले पनि उत्पादन कति छ त्यसको विवरण दिन भनेको छ । तिमिहरुको डाटा अनुसारको मात्रै वार्षिक रुपमा निकासिको वातावरण बनाउँछौ भनेको छ । नेपाल सरकारले यसको लागि भारत सरकारलाई वार्षिक ५० हजार मेट्रिकटन निकासिको लागि व्यवस्था गरिदिन आग्रह गरेको खण्डमा सहज हुने थियो ।