बैशाख २०८३ मा वाणिज्य बैंकहरूको मुद्दति निक्षेप ब्याजदर घट्यो
५ प्रतिशतभन्दा माथि दिने बैंक शून्यमा
वि.सं.२०८२ चैत ३० सोमवार ११:०७
shares

नेपालका वाणिज्य बैंकहरूले मुद्दति निक्षेपमा दिने ब्याजदर बैशाख २०८३ मा घटाउने प्रवृत्ति स्पष्ट रूपमा देखिएको छ। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा माथि दिने बैंकहरूको संख्या अहिले शून्यमा झरेको छ। यसले बैंकिङ प्रणालीमा तरलता सुधार हुँदै गएको र कर्जा माग अपेक्षाकृत कमजोर रहेको संकेत गरेको छ।
अघिल्लो महिना चैत २०८२ मा भने चार वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराएका थिए। ती बैंकहरूमा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंक रहेका थिए। तर बैशाख महिनामा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएपछि अब कुनै पनि बैंकले ५ प्रतिशतभन्दा माथिको दर कायम राखेका छैनन्। एनएमबि बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको देखिन्छ।
व्यक्तिगत मुद्दति निक्षेपतर्फ औसत अधिकतम ब्याजदर पनि घटेको छ। चैत महिनामा ४.४९४ प्रतिशत रहेको औसत ब्याजदर बैशाखमा घटेर ४.४ प्रतिशतमा झरेको छ। कुल २० वाणिज्य बैंकमध्ये ७ बैंकहरूले ब्याजदर घटाएसँगै औसतमा ०.०९४ प्रतिशत विन्दुको गिरावट आएको हो। यस अवधिमा स्ट्यान्डर्ड चार्टर्ड, कुमारी, एभरेष्ट, सिद्धार्थ, सिटिजन्स, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन्।
संस्थागत मुद्दति निक्षेपतर्फ पनि समान प्रवृत्ति देखिएको छ। चैत महिनामा ३.२९२५ प्रतिशत रहेको औसत अधिकतम ब्याजदर बैशाखका लागि घटेर ३.२२९५ प्रतिशतमा पुगेको छ। यसरी औसतमा ०.०६३ प्रतिशत विन्दुको गिरावट आएको छ। अधिकांश बैंकहरूले संस्थागततर्फ ब्याजदर स्थिर राखे पनि केही बैंकहरूले सामान्य समायोजन गरेका छन्।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार पछिल्लो समय बैंकहरूमा निक्षेप संकलन सहज हुँदै गएको छ भने कर्जा माग अपेक्षाकृत कमजोर रहेको छ। यस्तो अवस्थामा बैंकहरूले उच्च ब्याजदरमा निक्षेप तान्ने दबाब कम हुने भएकाले ब्याजदर घट्दै गएको हो। आगामी महिनाहरूमा पनि ब्याजदर स्थिर रहने वा थप घट्ने सम्भावना रहेको उनीहरूको भनाइ छ।


















