सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला
वि.सं.२०८३ वैशाख २ बुधवार १४:२२
shares

काठमाडौं, २ वैशाख । नेपाल सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण यसअघि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुरु गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ साल चैत ३१ गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानमा पुनः श्रम स्वीकृति खुला गरेको जनाएको छ।
इराकका हकमा २०८२ पुस ११ गतेको निर्णयअनुसार छुट्टै प्रक्रिया अपनाइने वैदेशिक रोजगार विभागले जनाएको छ।
यसअघि २०८२ फागुन १७ गतेको निर्णयअनुसार साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थगित गरिएको थियो।
इरानले खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि सुरक्षा अवस्था बिग्रिएको भन्दै नेपाल सरकारले ती देशमा रहेका नेपाली कामदारको सुरक्षालाई ध्यानमा राख्दै श्रम स्वीकृति रोक लगाएको थियो।
पछि २०८२ चैत ३ गते साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनः श्रम स्वीकृति खुला गरिएको थियो।
अब परराष्ट्र मन्त्रालय अन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम ९ईआरटी० को सिफारिसका आधारमा बाँकी चार देशमा पनि पुनः श्रम स्वीकृति खुला गरिएको हो।
तर नयाँ श्रम स्वीकृति भने सम्बन्धित देशको अवस्था सामान्य भएपछि मात्र खुला गरिने मन्त्रालयले जनाएको छ।


















