Dhulikhel Eco Banner new

नौ महिनामा वैदेशिक व्यापार १७ खर्ब नाघ्यो, निर्यात बढ्दा पनि व्यापार घाटा विस्तार

767
shares

काठमाडौं, ७ वैशाख । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। भन्सार विभाग का अनुसार समीक्षा अवधिमा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ।

यस अवधिमा नेपालले १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको आयात भएको थियो।

निर्याततर्फ भने उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ रहेको निर्यात १८.४६ प्रतिशतले बढेर चालु वर्षमा २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

यद्यपि निर्यातमा वृद्धि भए पनि आयातको उच्च दबाबका कारण व्यापार घाटा बढ्दै गएको छ। नौ महिनामा व्यापार घाटा १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार कुल व्यापारमा निर्यातको हिस्सा सामान्य रूपमा सुधारिएको छ। गत वर्ष १२.५७ प्रतिशत रहेको निर्यातको अंश चालु वर्षमा बढेर १३.०१ प्रतिशत पुगेको छ। यता आयातको हिस्सा भने ८७.४३ प्रतिशतबाट घटेर ८६.९९ प्रतिशतमा झरेको छ।

फागुन मसान्तसम्म ११.२२ प्रतिशत रहेको व्यापार घाटाको वृद्धिदर चैत मसान्तसम्म आइपुग्दा १३.०४ प्रतिशत पुगेको छ, जसले आयातको चाप अझै उच्च रहेको संकेत गर्छ।

यद्यपि आयात–निर्यात अनुपातमा भने केही सुधार देखिएको छ। फागुनमा १ रुपैयाँको निर्यात गर्दा ६.७५ रुपैयाँको आयात हुने गरेकोमा चैतमा यो घटेर ६.६९ मा झरेको छ। यसले निर्यातले क्रमशः आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको संकेत दिएको छ।