Dhulikhel Eco Banner new

विश्वविद्यालयमा दलीय संरचना हटाउन प्रधानमन्त्रीको निर्देशन

910
shares

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउन कडा निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे तीन घण्टा लामो छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्। उनले विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीतिक गतिविधि हुन नहुने स्पष्ट अडान व्यक्त गर्दै निर्णय कार्यान्वयनमा ढिलाइ नगर्न आग्रह गरे।

छलफलका क्रममा उपकुलपतिहरूले पछिल्लो समय विद्यार्थीबीच राजनीतिक गतिविधि केही सुस्त हुँदै गएको जानकारी गराउँदै दलीय संरचना हटाउने प्रयास जारी रहेको बताएका थिए। ‘जेनजी आन्दोलन’पछि विद्यार्थीहरूको प्राथमिकता परिवर्तन हुँदै गएको समेत उनीहरूले बताएका छन्।

त्यसैगरी, उपकुलपतिहरूले विश्वविद्यालय सञ्चालनका क्रममा देखिएका चुनौतीहरू विशेषगरी जग्गा प्राप्ति, आवश्यक जनशक्ति अभाव तथा स्रोतसाधन व्यवस्थापनमा सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले उठाइएका समस्या समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै शिक्षा क्षेत्र सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।