छिमेक लघुवित्तका ६९ हजार संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४४५ रुपैयाँ
वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:११
shares

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६९ हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले यसपटक सर्वसाधारणसहित इच्छुक सबै लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ।
लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ, जसअन्तर्गत न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ।
कम्पनीका अनुसार बोलपत्र पेश गर्ने प्रक्रिया वैशाख १० गतेदेखि सुरु भइसकेको छ र वैशाख २१ गते बैंकिङ समयभित्र आवेदन बुझाइसक्नुपर्नेछ।
बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न तथा सोही स्थानमा बुझाउन सकिने व्यवस्था गरिएको छ।
यस लिलामीमार्फत कम्पनीले संस्थापक समूहको सेयर संरचनामा परिवर्तन गर्दै लगानीकर्तालाई अवसर प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।



















