स्वास्थ्य बीमा बोर्डको नाम दुरुपयोग गर्दै सञ्चालन भइरहेका सामाजिक सञ्जालका अनधिकृत पेज तथा समूहहरू हटाउन निर्देशन
वि.सं.२०८३ वैशाख १० बिहीवार १०:०१
shares

काठमाडौं, १० वैशाख । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो प्रयोग गरी सञ्चालन भइरहेका अनधिकृत सामाजिक सञ्जालका पेज तथा समूहहरू तत्काल हटाउन निर्देशन दिएको छ। बुधबार जारी गरिएको सूचनामा बोर्डले फेसबुक, टिकटक र युट्युब लगायतका डिजिटल माध्यममा आफ्नो नाममा सञ्चालन भइरहेका पेजहरूबाट भ्रामक तथा तथ्यहीन सूचना प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बोर्डका अनुसार ‘नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा बोर्ड’ र ‘स्वास्थ्य बीमा कार्यक्रम’ जस्ता नाम प्रयोग गरी खोलिएका विभिन्न पेज तथा समूहहरूले आम नागरिकमा भ्रम सिर्जना गरिरहेका छन्। यस्ता अनधिकृत गतिविधिले सेवाग्राहीलाई गलत सूचना पुग्ने जोखिम बढाएको बोर्डको भनाइ छ।
सूचनामा यस्ता पेज तथा समूह सञ्चालन गर्ने व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र सम्बन्धित सामग्री हटाउन निर्देशन दिइएको छ। तोकिएको समयसीमाभित्र निर्देशन पालना नगरे प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाही अगाडि बढाइने बोर्डले चेतावनी दिएको छ।
बोर्डले आधिकारिक सूचना तथा जानकारीका लागि मात्र आफ्नो आधिकारिक माध्यमहरू प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



















