Dhulikhel Eco Banner new

स्काइलाइन इन्फ्राको विशेष साधारण सभा सम्पन्न

1.14K
shares

काठमाडौं, १४ वैशाख । स्काइलाइन इन्फ्रा लिमिटेडको विशेष साधारण सभा वीरगञ्जमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्रतिक अग्रवालको अध्यक्षतामा वैशाख ११ गते शुक्रबार साँझ ५ बजे सरोवर होटल वीरगञ्जमा सभा सम्पन्न भएको हो।

सभाले कम्पनीको २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको छ। साथै सेयर निष्काशनसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय गरिएको छ। यसैगरी संस्थापक समूहका लागि बाँकी रहेको सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने निर्णय भएको छ।

कम्पनीको आदर्शनगर–१०, वीरगञ्जमा बहुआयामिक नौतले भवन सञ्चालनमा रहेको छ। उक्त भवनको भुईँतलामा नामी खुद्रा पसलहरू रहेका छन् भने पहिलो तल्लामा जुवा खेल्ने कक्ष र दोस्रो तल्लामा चलचित्र प्रदर्शन कक्ष भाडामा सञ्चालनमा रहेको छ। तेस्रो तल्लादेखि माथिका सबै तल्लामा कम्पनीकै चारतारे होटल सञ्चालनमा रहेको छ।

होटलमा करिब ६० कोठाको सुविधा, भोजनालय, भोज तथा सभा–सम्मेलन कक्षका साथै छुट्टै छतस्थित भोजनालय सञ्चालनमा रहेको छ, जसको व्यवस्थापन भारतीय सरोवर समूहमार्फत भइरहेको जनाइएको छ।

वि.सं. २०८१ सालदेखि सञ्चालनमा आएको होटल आर्थिक वर्ष २०८१/८२ मा नाफामा रहेको र कम्पनीको खुद सम्पत्ति पनि सकारात्मक रहेको जानकारी दिइएको छ।

कम्पनीको कुल जारी पूँजी १७५ करोड रुपैयाँ रहेको छ। त्यसको २० प्रतिशत अर्थात् ३५ करोड रुपैयाँ बराबरका ३५ लाख कित्ता सेयर आगामी आर्थिक वर्ष २०८२/८३ मा सर्वसाधारणका लागि निष्काशन गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।