Dhulikhel Eco Banner new

सिंहदरबारभित्र म्याद गुज्रिएको दही बिक्री गर्ने खाजा घरलाई २ लाख ५ हजार जरिवाना

1.13K
shares

काठमाडौं, २४ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र सञ्चालित एक क्यान्टिनलाई म्याद नाघेको दही बिक्री गरेको आरोपमा २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण परिसरमा सञ्चालित ‘हाम्रो खाजा घर’ मा गरिएको आकस्मिक अनुगमनका क्रममा म्याद गुज्रिएको दही फेला परेको थियो। उपभोक्ताको गुनासो तथा उजुरीपछि बुधबार (२०८३ वैशाख २३ गते) अनुगमन गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको पाइएकाले सोही ऐनको दफा ३९ (१) (ख) अनुसार खाजा घरलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ।

विभागले म्याद नाघेको दही उत्पादन गर्ने श्री कृष्ण डेरी फर्म लाई व्यवसाय दर्ता प्रमाणपत्र पेश गर्न निर्देशन दिएको छ। साथै, ‘हाम्रो खाजा घर’ लाई उक्त दही खरिद गरेको बिक्री बिलसहित ३ दिनभित्र विभागमा उपस्थित हुन आदेश दिइएको छ।

सरकारी मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै अखाद्य वस्तु बिक्री वितरण भएको घटना सार्वजनिक भएपछि विभागले बजार अनुगमनलाई थप कडाइ गर्ने संकेत गरेको छ।