नाट्टा अध्यक्षमा युबिका भण्डारीको उम्मेदवारी
वि.सं.२०८३ साउन ५ मंगलवार १२:१३
shares

काठमाडौं, ५ साउन । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनका लागि हाल महासचिव पदमा रहेकी युबिका भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् ।
पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव र नाट्टाको कार्यसमितिमा लगातार छ वर्षको संलग्नतासहित उनले उम्मेदवारी दिएकी हुन् । नाट्टामा उनले सन् २०२० देखि क्रमशः संयुक्त कोषाध्यक्ष, सचिव र हाल महासचिवको जिम्मेवारी सम्हालिसकेकी छन् । सन् २०११ देखि उनी शशीज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी प्रबन्ध निर्देशक रहँदै आएकी छन् ।
वास्तुकलामा स्नातक गरेकी भण्डारीले पोखरा विश्वविद्यालयअन्तर्गत एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट कार्यकारी एमबीए पूरा गरेकी हुन् । उनले उत्कृष्ट शैक्षिक नतिजाका लागि राष्ट्रपतिबाट नेपाल विद्याभूषण ‘क’ र पोखरा विश्वविद्यालयबाट कुलपति स्वर्ण पदक समेत प्राप्त गरिसकेकी छन् ।
महासचिव रहँदा उनले संस्थाको आर्थिक व्यवस्थापन, नीतिगत पैरवी तथा स्पेनको फिटुर, चीन र मलेसियाका सेल्स मिसनजस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वमा भूमिका खेलेकी बताइन्छ । युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा सातै प्रदेशमा ७०० भन्दा बढी जनशक्तिलाई तालिम दिने काममा पनि उनी संलग्न रहेकी थिइन् ।
उम्मेदवारी घोषणासँगै भण्डारीले नाट्टालाई प्रतिक्रियात्मकबाट पूर्वतयारीसहितको संस्थामा रूपान्तरण गर्ने आफ्नो प्राथमिकता सार्वजनिक गरेकी छन् । उनका प्रमुख एजेन्डामा संस्थाको सञ्चार र निर्णय प्रक्रिया प्रविधिमैत्री र पारदर्शी बनाउने, काठमाडौंबाहिरका प्रदेश र गन्तव्यका व्यवसायीको आवाजलाई समान स्थान दिने, सरकारसँग नीतिगत समन्वय बलियो बनाउने र देशभरका पर्यटन व्यवसायीका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने रहेका छन् ।
आफ्नो उम्मेदवारी व्यक्तिगत पद वा प्रतिष्ठाका लागि नभई पर्यटन उद्योगले खोजेको बलियो र जिम्मेवार संस्था निर्माणका लागि भएको भण्डारीको भनाइ छ । उनले सदस्यहरूको विश्वास र समर्थनसहित नाट्टालाई अर्थपूर्ण परिवर्तनतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
नाट्टाको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि यसअघि पनि केही उम्मेदवारहरूले चासो देखाइसकेका छन्, तर भण्डारीको उम्मेदवारीले संस्थाभित्र चर्चा पाएको छ ।



















