Dhulikhel Eco Banner new

ब्रोकरको कमिसन आम्दानी ७ अर्ब नजिक, बजार कारोबारमै निर्भरता कायम

624
shares

नेपालको सेयर बजारमा कारोबार बढेसँगै धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूको आम्दानी पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आर्थिक वर्ष २०८२/८३ मा ९२ वटा ब्रोकर कम्पनीले जम्मा ६ अर्ब ९० करोड १३ लाख रुपैयाँ कमिसन संकलन गरेका छन्।

कारोबार बढी हुने साउन र चैत महिनामा कमिसन आम्दानी पनि उच्च रहेको तथ्यांकले देखाएको छ। ब्रोकर कम्पनीहरूमध्ये नासा सेक्युरिटिज सबैभन्दा बढी कमिसन कमाउने कम्पनी बनेको छ, जसले एक वर्षमा ४७ करोड १८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। यस सूचीमा भिजन सेक्युरिटिज, सनी सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज पनि अगाडि रहेका छन्।

आम्दानी बढे पनि ब्रोकर व्यवसाय अझै मुख्यतः सेयर कारोबारबाट प्राप्त हुने कमिसनमै निर्भर रहेको व्यवसायीहरूको भनाइ छ। कारोबारमा हुने उतारचढावले सिधै आम्दानीमा असर पार्ने भएकाले व्यवसाय विस्तार र नयाँ सेवा थप्नुपर्ने आवश्यकता रहेको उनीहरूले औंल्याएका छन्।

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अनुसार प्रविधि, जनशक्ति र सेवा विस्तारमा ठूलो लगानी आवश्यक भए पनि हालको आम्दानी संरचनाले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न चुनौती थपिरहेको छ। यसैले इन्ट्रा-डे ट्रेडिङ, सर्ट सेलिङ र मार्जिन लेन्डिङजस्ता नयाँ वित्तीय सेवा सञ्चालनको अनुमति पाएपछि मात्र कमिसन संरचना पुनरावलोकन हुनुपर्ने माग ब्रोकरहरूको रहेको छ।

लगानीकर्ताहरूले पनि बजार विस्तारसँगै ब्रोकरको दिगोपन र लगानीकर्ताको हितबीच सन्तुलन कायम गर्ने खालको नयाँ व्यवस्था आवश्यक रहेको धारणा राखेका छन्।