गोरखपुर–सुनौली चार लेन सडक निर्माण ९० प्रतिशत सकियो, दिल्लीदेखि सीमासम्मको यात्रा ८ घण्टामा झर्ने
वि.सं.२०८३ साउन १४ बिहीवार ०९:५८
shares

नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एउटा ठूलो अन्तर्राष्ट्रिय सडक करिडोरले दुई देशबीचको यात्रा समयलाई निकै छोट्याउने भएको छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार उत्तर प्रदेशको गोरखपुरदेखि नेपाल सीमा नाका सुनौलीसम्म जोड्ने चार लेने राजमार्ग (एनएच–२४) को भौतिक प्रगति हाल ९० प्रतिशत हाराहारी पुगिसकेको छ।
७९.५४ किलोमिटर लम्बाइ भएको यस मार्गलाई पहिले दुई लेनमा सीमित र स्थानीय बजार क्षेत्रमा प्रायः जाम हुने अवस्थाबाट माथि उठाई पूर्ण एक्सप्रेस-वेको स्तरमा स्तरोन्नति गरिँदैछ। परियोजनाको कुल लागत १४ अर्ब ५८ करोड भारतीय रुपैयाँ अर्थात नेपाली मुद्रामा करिब २३ अर्ब ३२ करोडभन्दा बढी रहेको जनाइएको छ।
निर्माणाधीन संरचनाहरूमा एउटा रेल ओभरब्रिज, दुईवटा फ्लाइओभर, २४ वटा अन्डरपास र १०५ वटा साना पुलिया समावेश छन्। यसबाहेक स्थानीय सवारीका लागि छुट्टै ६८ किलोमिटर सर्भिस रोड पनि तयार पारिएको छ। भविष्यमा सवारी चाप बढेमा यसलाई ६ लेनसम्म विस्तार गर्न मिल्ने गरी डिजाइन तयार पारिएको अधिकारीहरूले जनाएका छन्।
राजमार्गमा सीसीटीभी निगरानी, इलेक्ट्रोनिक सूचना बोर्ड, इमर्जेन्सी कल बक्स लगायतका आधुनिक प्रविधि पनि जडान गरिँदैछ। परियोजना निर्देशक ललित प्रताप पालका अनुसार सडक पूर्ण सञ्चालनमा आएपछि गोरखपुरदेखि सुनौलीसम्मको यात्रा समय हालको तुलनामा आधाभन्दा बढीले घट्नेछ।
यसअघि दिल्लीदेखि सुनौलीसम्म १२ देखि १४ घण्टासम्म लाग्ने गरेकोमा नयाँ सडक सञ्चालनमा आएपछि यो दूरी ८ घण्टामा सीमित हुने अपेक्षा गरिएको छ। साथै काठमाडौं–भैरहवा खण्डको सडक पनि समयमै सम्पन्न भएमा काठमाडौंदेखि दिल्लीसम्मको सडक यात्रा समेत करिब १६ घण्टामा झर्न सक्ने आकलन गरिएको छ।
व्यापारिक दृष्टिले हेर्दा सुनौली नाका नेपाल प्रवेश गर्ने प्रमुख पारवहन विन्दुहरूमध्ये एक हो। सडक फराकिलो भएपछि मालवाहक ट्रकको आवतजावत सहज बन्नेछ, जसले ढुवानी लागत र समय दुवै घटाउने विश्लेषकहरूको भनाइ छ। यसैगरी सीमावर्ती भारतीय जिल्लामा उत्पादित तरकारी तथा फलफूल छिटो नेपाली बजारसम्म ताजै पुग्न सक्ने भएकाले किसानले उचित मूल्य पाउने अपेक्षा गरिएको छ।
धार्मिक पर्यटनका दृष्टिले पनि यो सडक महत्त्वपूर्ण मानिएको छ। बुद्धसँग जोडिएका लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरजस्ता स्थलहरूलाई यसले सहज रूपमा जोड्ने भएकाले बौद्ध सर्किट पर्यटनलाई प्रोत्साहन मिल्ने विश्लेषकहरूको धारणा छ।
तथापि भारततर्फको काम अन्तिम चरणमा पुग्दा नेपालतर्फको सडक स्तरोन्नति भने अझै सुस्त रहेको देखिन्छ। काठमाडौं–भैरहवा, बुटवल–नारायणगढ र मुग्लिन–पोखरा खण्डका काम लामो समयदेखि लम्बिँदै आएका छन्। नेपालतर्फको सडक समयमै सकिएन भने भारतीय करिडोरबाट प्राप्त हुने वास्तविक लाभ सीमित हुने विज्ञहरूले चेतावनी दिएका छन्, जसका कारण यी आयोजनालाई प्राथमिकतामा राखी छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।















