Dhulikhel Eco Banner new

पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गर्न माग

481
shares

काठमाडौं, १६ कात्तिक। पत्रकारमाथि भएका हत्या, बेपत्ता तथा हिंसाका घटनामा संलग्नलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन फ्रीडम फोरमले सरकारसँग माग गरेको छ । पत्रकारमाथिका अपराधमा दण्डहीनता कायम रहँदा प्रेस स्वतन्त्रता र कानुनी शासन कमजोर बनेको फोरमको निष्कर्ष छ ।

पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस ९नोभेम्बर २०का अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै फोरमले पत्रकारमाथिका अपराधको निष्पक्ष अनुसन्धान र दोषीलाई जवाफदेही बनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । यस वर्षको दिवसको नारा ‘खतरा बदलिँदै छन, दण्डहीनता कायमै छ’ रहेको छ ।

फोरमका अनुसार २०५२ सालदेखि सुरु भएको दशक लामो सशस्त्र द्वन्द्वका क्रममा हत्या तथा बलपूर्वक बेपत्ता पारिएका पत्रकारका परिवारले अझै न्याय पाउन सकेका छैनन् । द्वन्द्वकालमा तत्कालीन माओवादी पक्ष र राज्यका सुरक्षा निकायबाट भएका घटनासम्बन्धी उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा दर्ता भए पनि ती मुद्दा अझै टुंगिएका छैनन् ।

पत्रकारहरू द्वन्द्वका प्रत्यक्ष पक्ष नभई मानव अधिकार रक्षक भएकाले उनीहरूमाथिका अपराधलाई संक्रमणकालीन न्याय संयन्त्रको सट्टा नियमित फौजदारी न्याय प्रणालीबाट सम्बोधन गर्नुपर्ने फोरमको माग छ ।

फोरमले द्वन्द्वकालमा मारिएका पत्रकार नवराज शर्मा ‘वसन्त’, कृष्णबहादुर सेन, गोपाल गिरी, ईश्वर बुढाथोकी, कुमार घिमिरे, देवकुमार आचार्य, राजकुमार केसी, कमल एसी, महेश्वरी पहारी र अम्बिका तिमिल्सेनाका मुद्दा अझै आयोगमा विचाराधीन रहेको जनाएको छ ।

त्यस्तै, विस्तृत शान्ति सम्झौतापछि हत्या गरिएका पत्रकार जगतप्रसाद जोशी, खगेन्द्र श्रेष्ठ र देवीप्रसाद धितालका घटनामा अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि नबढेको फोरमको भनाइ छ । काठमाडौंमा गोली हानी हत्या गरिएका जमिम शाह तथा २०१५ को मधेश आन्दोलनमा ज्यान गुमाएका रोहन चौधरी र गणेश चौधरीका घटनामा पनि न्यायिक प्रक्रिया अघि बढ्न नसकेको विज्ञप्तिमा उल्लेख छ ।

द्वन्द्वकालमा बेपत्ता पारिएका धनबहादुर रोकाया मगर र मिलन नेपाली तथा त्यसपछि बेपत्ता भएका मदन पौडेल र प्रकाशसिंह ठकुरीको अवस्था अझै अज्ञात रहेको फोरमले जनाएको छ । पत्रकारमाथिको हिंसा द्वन्द्वकालमा मात्रै सीमित नरहेको उल्लेख गर्दै फोरमले एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष अनुसन्धान हुन नसकेकोप्रति पनि चिन्ता व्यक्त गरेको छ । २०२५ मार्च २८ मा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनको समाचार संकलनका क्रममा रजकको मृत्यु भएको थियो ।

त्यस्तै, २०२५ सेप्टेम्बर ८ मा भएको जेनजी आन्दोलनका क्रममा प्रहरी कारबाहीमा गोली लागेर घाइते भएका पत्रकार शम्भु दंगाल, दीपेन्द्र ढुंगाना, श्याम श्रेष्ठ र उमेश कार्कीका घटनामा पनि दोषीमाथि कारबाही नभएको फोरमले जनाएको छ ।

उक्त आन्दोलनका घटनाबारे गौरीबहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरी जिम्मेवार व्यक्तिमाथि थप स्वतन्त्र अनुसन्धान गर्न सिफारिस गरे पनि कार्यान्वयनमा ठोस कदम नचालिएको विज्ञप्तिमा उल्लेख छ ।

फोरमको प्रतिवेदनअनुसार २०२५ नोभेम्बर १ देखि २०२६ अक्टोबर ३१ सम्म नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाबाट १०३ जना पत्रकार प्रभावित भएका छन् । प्रभावितमध्ये ९१ पुरुष र १२ महिला छन् । पछिल्लो समय सञ्चारमाध्यमका कार्यालयमा सुरक्षा निकायको प्रवेश र पत्रकार पक्राउका घटनाले पत्रकारको सुरक्षामा थप चुनौती देखिएको फोरमको भनाइ छ ।

फोरमले पत्रकारमाथिका अपराधमा संलग्नलाई जवाफदेही बनाउन, द्वन्द्वकालीन घटनालाई नियमित फौजदारी न्याय प्रणालीबाट अघि बढाउन तथा पीडित पत्रकार र उनीहरूका परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ ।