आधा निर्माण सकिएका जलविद्युत्लाई आईपीओ निष्कासनको सुविधा
वि.सं.२०८३ मंसिर १ मंगलवार ०८:५२
2.47K
shares
shares

काठमाडौं — निर्माण चरणमै रहेका जलविद्युत् कम्पनीहरूलाई पुँजी संकलनमा सहज हुने गरी सरकारले प्राथमिक सेयर (आईपीओ) निष्कासनको व्यवस्था खुकुलो बनाउने तयारी गरेको छ । ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को प्रारम्भिक मस्यौदामार्फत कम्तीमा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेका आयोजनालाई सर्वसाधारणमा सेयर जारी गर्न दिने प्रस्ताव अघि सारिएको हो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ मा संशोधन गर्दै व्यावसायिक उत्पादन नथालेकै कारणले मात्र कुनै पनि कम्पनीको सेयर निष्कासन आवेदन अस्वीकृत नहुने व्यवस्था मस्यौदामा समेटिएको छ । यद्यपि, यसका लागि स्वतन्त्र प्राविधिक मूल्याङ्कनकर्ताबाट आयोजनाको आधा काम सकिएको प्रमाणित हुनुपर्ने अनिवार्य सर्त राखिएको छ ।
आईपीओमा जान चाहने सङ्गठित संस्थाले आयोजनाको कुल लागत, बाँकी निर्माण कार्य पूरा गर्न लाग्ने थप पुँजी र वित्तीय स्रोतको सुनिश्चितताबारे विवरण पत्रमा स्पष्ट पार्नुपर्नेछ । साथै, निर्माणमा हुन सक्ने सम्भावित ढिलाइ, लागत बढ्ने जोखिम, विद्युत् खरिद सम्झौता (पीपीए), उत्पादन अनुमतिपत्र तथा अन्य नियामकीय स्वीकृतिको अद्यावधिक अवस्थासमेत खुलाउनुपर्ने व्यवस्था छ ।
सेयर बिक्रीबाट उठेको रकम स्वीकृत प्रयोजनमै खर्च हुने ग्यारेन्टीसँगै आयोजना सम्पन्न भई व्यापारिक उत्पादन सुरु हुने अनुमानित समयसमेत लगानीकर्तालाई जानकारी गराउनुपर्नेछ । धितोपत्र बोर्डले निर्धारण गरेका लगानीकर्ता सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गर्ने कम्पनीले मात्र यो सुविधा पाउने मस्यौदामा उल्लेख छ ।
















