Dhulikhel Eco Banner new

निक्षेपको औसत ब्याजदर ४ प्रतिशतमुनि झर्‍यो

2.05K
shares
काठमाडौँ — वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार निक्षेपको औसत ब्याजदर ४ प्रतिशतभन्दा तल ओर्लिएको छ । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले तोकेको दर विश्लेषण गर्दा व्यक्तिगत र संस्थागत दुवैतर्फको मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकको तुलनामा थप खुम्चिएको देखिएको हो ।
तथ्याङ्कअनुसार मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ०.१०७ प्रतिशतविन्दुले घटेर ३.९०६ प्रतिशत कायम भएको छ । कात्तिक महिनामा यस्तो औसत दर ४.०१३ प्रतिशतविन्दु थियो । यसैगरी, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतविन्दुबाट ०.०१२५ प्रतिशतविन्दुले ओरालो लाग्दै २.९९०५ प्रतिशतविन्दुमा सीमित भएको छ । मंसिरमा कुल २० बैंकमध्ये ६ वटाले ब्याजदर घटाउँदा १४ वटाले पुरानै दरलाई यथावत् राखेका छन् भने कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।
ब्याजदर कटौती गर्ने बैंकहरूमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा आक्रामक नीति अपनाउँदै व्यक्तिगत मुद्दती निक्षेपमा १ प्रतिशतविन्दुले दर घटाएको छ । कात्तिकमा ४.५ प्रतिशत ब्याज दिइरहेको उक्त बैंकले मंसिरका लागि ३.५ प्रतिशतमा झारेको हो । त्यस्तै, कृषि विकास बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेको छ भने एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतविन्दु कटौती गर्दै क्रमशः ४.२५ र ३.२५ प्रतिशत तोकेको छ । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशतविन्दु घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशतविन्दु घटाएर ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशतमा सीमित गरेका छन् ।
अर्कोतर्फ, सानिमा बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदरलाई निरन्तरता दिँदै मंसिरमा सर्वाधिक ब्याज दिने बैंकको अग्रस्थान कायम राखेको छ । यस्तै, प्रभु बैंक र एनएमबि बैंकले व्यक्तिगततर्फ ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । हिमालयन, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, प्राइम कमर्सियल र ग्लोबल आईएमई बैंकले भने व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतमा स्थिर राखेका छन् ।
समग्र तथ्याङ्कलाई केलाउँदा बैंकिङ प्रणालीमा निक्षेपको ब्याजदर निरन्तर ओरालो लाग्ने क्रममा देखिएको छ । एकतिहाइभन्दा कम अर्थात् ३० प्रतिशत बैंकले दर घटाउँदा ७० प्रतिशत बैंकले पुरानै दरलाई निरन्तरता दिनुले बैंकहरू तत्काल निक्षेप आकर्षण गर्न ब्याजदर बढाउने दबाबमा नरहेको संकेत गर्छ । सार्वजनिक दरअनुसार व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ब्याज दिने सानिमा बैंक (४.५ प्रतिशत) र कम ब्याज तोक्ने माछापुच्छ्रे बैंक (३.५ प्रतिशत) बीच १ प्रतिशतविन्दुको फराकिलो अन्तर देखिएको छ, जसले निक्षेपकर्तालाई बैंक छनोटमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
यसैगरी, व्यक्तिगत र संस्थागत निक्षेपको औसत ब्याजदरबीच करिब ०.९२ प्रतिशतविन्दुको फरक देखिएको छ । निक्षेपको ब्याजदर घट्नुको दोहोरो अर्थ हुन्छ— एकातिर बचतकर्ता र संस्थागत निक्षेपकर्ताको ब्याज आम्दानी खुम्चिन पुग्छ भने अर्कोतिर बैंकहरूको कोषको लागत (कस्ट अफ फन्ड) कम हुँदै जान्छ । बैंकहरूको लागत घटेसँगै आगामी दिनमा कर्जाको ब्याजदरसमेत थप सस्तिने आधार तयार भई निजी क्षेत्र तथा व्यवसायीलाई लगानी विस्तारमा राहत पुग्ने विश्लेषण गर्न सकिन्छ ।