अपि पावरको विद्युत बिक्री आम्दानीसँगै नाफा पनि बढ्यो
वि.सं.२०७९ साउन ३१ मंगलवार १०:४३
shares

काठमाडौं, ३१ साउन । अपि पावर कम्पनी लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकोत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ५१ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.३५ प्रतिशत बढी हो। विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा ११.८५ प्रतिशत बढेर १४ करोड १० लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधीमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ८६.२४ प्रतिशत घटेको छ भने कुल आम्दानी २२.५८ प्रतिशत बढेको छ।
३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ५.९८ प्रतिशत बढेर २९ करोड ६६ लाख रुपैयाँ पुगेको छ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ४३ पैसा घटेर ३ रुपैयाँ ६७ पैसामा झरेको छ।
चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६६.६६ गुणा रहेको छ।















