पर्यटन बोर्डका कर्मचारी आन्दोलित, बजेट संशोधनदेखि १५ प्रतिशत तलब बढाउनु पर्ने
वि.सं.२०७९ असोज ७ शुक्रवार १८:२७
shares

काठमाडौं, ७ भदौ । नेपाल पर्यटन बोर्डका कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीहरुले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका हुन् ।
बोर्डका कर्मचारीले नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द गरिएको राजश्व कार्यलय तत्काल सुचारु गर्न तथा नेपाल आउने पर्यटकलाई कुनै सेवा नदिई १ हजार रुपैयाँ पर्यटक सेवा शुल्क लिएको भन्दै विरोध गरेका हुन् । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रुपमा आन्दोलन शुरु गरेका हुन् । त्यस्तै नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०७९÷८० को आम्दानी प्रक्षेपण स्वभाविक, प्राकृतिक, यथार्थपरक र वस्तुपरक नभएकाले उक्त बजेट संशोधन हुनु पर्ने कर्मचारीको माग छ ।
कर्मचारीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ २३ गते बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कार्यालयमा ताला लगाएका थिए । जसले गर्दा नेपाल पर्यटन बोर्डले २० वर्षदेखि संकलन गर्दै आएको पर्यटक सेवा शुल्कमा विवाद भएको छ । बोर्डका कर्मचारीले सेवा शुल्क संकलनमा देखिएको विवादलाई तत्काल समाधान गर्न माग गरेका छन ।
बोर्डका प्रमुख कार्याकारी अधिकृत धनञ्जय रेग्मीले राजनीतिक नेतृत्वलाई रिझाउन र आफू अनुकुलका आयोजनामा बजेट विनियोजन गर्न बजेटको आकार अनावश्यक रुपमा बढाएको कर्मचारीको आरोप छ । यस्तै, नेपाल सरकारले गरेको १५ प्रतिशत तलब बृद्धिको निर्णय पर्यटन वोर्डमा समेत लागू हुनु पर्ने कर्मचारी यूनियनको माग छ ।
















