चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत
वि.सं.२०७९ कात्तिक ५ शनिवार १८:४४
shares

काठमाडौं, ५ कात्तिक । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीकी ११ वर्षीया वीना चेपाङको परिवारलाई राहत उपलब्ध गराइएको छ । डिभिजन वन कार्यालयले किरिया खर्चबापत मृतकका परिवारलाई रु ५० हजार उपलब्ध गराएको हो ।
शुक्रबार बिहान ६ः३० बजे चितुवाको आक्रमणमा परी चेपाङको मृत्यु भएको थियो । सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार मृतकका बुबा चन्द्रबहादुरलाई किरिया खर्च बापत उक्त रकम उपलब्ध गराइएको हो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहतस्वरुप रु दश लाख दिने प्रावधान रहेको र बाँकी रकम प्रक्रिया पूरा गरेर पीडित परिवारलाई उपलब्ध गराइने उनको भनाइ थियो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ संशोधित २०७५० बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा रु पचास हजारसम्म, सख्त घाइते भएमा रु दुई लाखसम्म र मृत्यु भएमा अधिकतम रु दश लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।
गत असारमा वडा नं १ र ४ मा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको र अन्य दुई घाइते भएका थिए । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाए का र उनीहरु १२ वर्षभन्दा कम उमेरका थिए ।
















