Dhulikhel Eco Banner new

बिचित्रको आलु पार्टी सम्पन्न

4.97K
shares

काठमाडौं, ८ कात्तिक । समाजमा ब्याप्त विकृति,विसङ्गती विरुद्ध सांकेतिक ब्यङ्ग प्रहार गर्दै हाँस्यब्यङ्गकारको जमघटका विच आलुपार्टी सम्पन्न भएको छ । आलुपार्टीका संस्थापक वरिष्ठ हाँस्यब्यङ्गकार राम कुमार पाँडे निवास जावलाखेलमा खोर्सानीको धुप लगाइ शंख ध्वनिका साथ जोगीको फेरी लगाउँदै सुरु गरिएको आलु पार्टीमा समसामयिक बिषय र वस्तुस्थिति प्रती ब्यङ्ग गर्दै भट्याउँदै देउसी– भैलोको शैलीमा “लौ – खा “भन्दै भ्रष्टाचारीको सांकेतिक प्रतिकमा जुत्ताको तलुवाले हिर्काउँदै फरक शैलीबाट कलाकारहरूले तलुवा चटाएका थिए ।

आलुको शांकेतिक प्रतिकलाई सभापति र सभापत्नी बनाएर लाटोकोसेरोको प्रतिकलाई प्रमुख अतिथी मानिएको थियो । कार्यक्रममा सत्ता र कुर्सीको मोहमा परेका, ७० काटेका बुढा नेताहरूलाई सांकेतिक ब्यङ्ग गर्दै राम कुमार पाँडेलाई कुर्सीबाट झारी चकटीमा सारेर नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्ने र बुढा पुस्ताले आराम गर्नुपर्ने संन्देश दिइएको थियो ।

वि.सं २०३४ सालदेखि निरन्तर फरक शैलीमा काग तिहारका दिन मनाइने आलुपाटी ४५ बर्षदेखि चल्दै आएको छ । बिगत केही वर्षदेखि आजकै दिनलाई हाँस्यब्यङ्ग दिवसका रुपमा पनि मनाउन थालिएको छ । आलु महिमा सुनाउँदै पाँडेले आलुको दाम सँगै बेथितिको चाङ बढेकोले ब्यङ्गलाई सुन्ने, बुझ्ने र बुझाउने अभियानको आवश्यकता माथि जोड दिए ।

हाँस्यब्यङ् क्षेत्रका साहित्यकार तथा कलाकारहरू शैलेन्द्र सिंखडा, दिपाश्री निरौला, शिरोमणि दवाडी, डा.बम बहादुर जिताली, बिष्णु तिवारी, घनश्याम गौतम, कमल ओली,रितु कंडेल, मनोज आचार्य, अजय अधिकारी सुशील कार्टुनिष्टहरू अविन, रविन र अशोकमान लगायतले कविता, मुक्तक, नृत्य, गायन कला तथा कार्टुन चित्र प्रदर्शन गरेका थिए ।

कार्यक्रममा ब्यङ्ग र प्रस्तुतिका आधारमा प्रस्तोताहरूलाई सांकेतिक रुपमा विभिन्न दर्जाका आलु उपाधीले सम्मान गरिएको थियो । आलुपार्टीको परम्परा सबैभन्दा ठूलो साइजको कलमबाट नाम दर्ता गरेर सुरुवात गरी अन्त्यमा आलुकै परिकार खाएर कार्यक्रम टुङ्याइएको थियो ।