मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै किसान
वि.सं.२०७९ कात्तिक १४ सोमवार १३:२९
shares

काठमाडौं, १४ कात्तिक । दुईवर्ष पहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका विकास पौडेललाई आजभोलि गाईलाई दानापानी दिनै मन लाग्दैन् ।
बिहानबेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिनसके माउ गाईले दिनमा दुई पटकको दरले चारदेखि छ लिटर दूध दिन्छन् । सहकारीमार्फत् दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन् तर मूल्य वृद्धिको मारले थिचेको छ ।
दानापानीको भरमा घटबढ हुने दूध धेरै उत्पादन गर्दा पनि मूल्य उठ्दैन् । बजार मूल्य र किसानले पाउँने दूधको मूल्यमा आधाभन्दा फरक छ ।
विकासले सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपैयाँ पार्छन । तर त्यही दूध बजारमा एक सय २० रुपैयाँमा बिक्री हुन्छ । दुईवर्ष पहिले दूधको मूल्य ५० रुपैयाँसम्म पथ्र्यो र पनि किसानको दुःख उठ्थ्यो ।
अहिले बजारमा महँङगिएको दाना चोकरको मूल्य जस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका हुन् । यो समस्या विकासको मात्रै होइन, कुश्मीशेराका अन्य किसानको पनि समस्या हो ।
जसको असर दुई वर्ष पहिले दैनिक चार सय लिटर दूध उत्पादन गर्ने जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा परेको छ । अहिले सहकारीले दिनमा दुई सय ५० लिटर दूध मात्रै उत्पादन हुन्छ । ‘‘बिक्री भएको दूधको पैसासमेत समयमा नआउने समस्या छ, दाना चोकर समयमा पु¥याउनै कठिन हुने’’, पौडेलले भने ‘‘व्यावसायिक गाई पालेर पनि आम्दानी गर्न सकिन्छ तर महँगी र दूधको मूल्य वृद्धि समान हिसाबले हुनुपर्छ ।’’
वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा सहभागी भएका विकाससँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले पछिल्लो समय व्यावसायिक रुपमा पालिएका गाईको सङ्ख्या घटाउने र अन्य व्यवसायको खोजी गर्न थालेका छन् ।
‘‘बिहान तीन लिटर दिएको गाईले बेलुका पनि त्यतिनै दिन्छ, दाना चोकर प्रशस्त दिए त्यही गाईको दूध पाँच लिटर आउँथ्यो’’, पौडेलले भने ‘‘दुई वर्ष पहिले एक हजार छ सय पर्ने दानाको बोरा अहिले दुई हजार दुई सय भएको छ ।’’ महँगीको मार थेग्न नसकेका कारण आफूहरुले उत्पादन घटाउनु परेको उनहरुको भनाइ छ ।
किसानले तीन वर्षको अन्तरमा बढेको दूधको मूल्यबाट आशा राखेका थिए तर दूधको मूल्य नबढ्दै बढेको दाना चोकरको मूल्यले किसानको आशा निराशामा परिणत भएको छ ।

















