Dhulikhel Eco Banner new

आन्तरिक खपत र निर्यात प्रबर्द्धनका लागि पूर्वाधार बिस्तार गर्दै प्राधिकरण

4.73K
shares

काठमाडौं, १४ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । साथै, आन्तरिक खपत गरी बढी भएको विद्युत् भारत र बङ्गलादेश निर्यातका लागि समेत पूर्वाधार बिस्तारमा प्राधिकरण जुटेको हो ।

विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश नं १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने तयारी सुरु गरेको छ । साथै, भारत र बङ्गलादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण गरिने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले मुलुकमा उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार बिस्तारलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ । सञ्चालनमा रहेका पूर्वाधारको स्तरोन्नती गर्ने प्राधिकरणको कार्यक्रम छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत् खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएको प्राधिकरणले जनाएको छ ।

टोलीले भारतको पश्चिम बङ्गाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावना, बङ्गलादेशतर्फ विद्युत् निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थानलगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको छ ।

टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएको थियो ।