धरौटी बुझाएर निस्किए लगत्तै शेखर गोल्छा पुनः पक्राउ
धितोपत्र मुद्दाबाट छुटे, बीमा कसुरमा फेरि नियन्त्रण
वि.सं.२०८३ वैशाख २२ मंगलवार ०६:५६
shares

व्यवसायी शेखर गोल्छा धितोपत्र सम्बन्धी मुद्दामा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिरासतबाट निस्कनासाथ बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएको हो।
सर्वोच्च अदालतको परमादेशपछि उनी थुनामुक्त भएका थिए। अदालतले धितोपत्र मुद्दामा हिरासतमा राख्ने प्रक्रियामा त्रुटि देखाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
तर, बीमा ऐन अन्तर्गत अर्को मुद्दामा पक्राउ पुर्जी जारी भइसकेकाले उनलाई तत्कालै पुनः नियन्त्रणमा लिइएको हो। अब उक्त मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने जनाइएको छ।

















