Dhulikhel Eco Banner new

राष्ट्र उत्थान लघुवित्तको नाफा ६९ प्रतिशतले घट्यो

4.59K
shares

काठमाडौं, १६ कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा लघुवित्तको नाफा ६९ दशमलव ४६ प्रतिशत घटेको हो ।

लघुवित्तले बुधबार सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासमा यो लघुवित्तले १ करोड २५ लाख १७ हजार नाफा आर्जन गरेको थियो ।
तर चालू आर्थिक वर्षको पहिलो त्रैमासमा यो लघुवित्तले ३८ लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा घट्नुका साथै खराब कर्जा वृद्धि हुँदा नाफामा प्रत्येक्ष प्रभाव परेको देखिन्छ । यो लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानीबाट ४ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ ।

तर, गत वर्ष यस्तो आम्दानी ५ करोड १२ लाख रुपैयाँ थियो । त्यस्तै लघुवित्तले ५० लाख ९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष यस्तो नाफा १ करोड ५२ लाख हजार रुपैयाँ थियो ।

गत वर्षको तुलनामा खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा लघुवित्तको खराब कर्जा १ दशमलव २५ प्रतिशत थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा खराब कर्जा १ दशमलव ४३ प्रतिशत कायम भएको छ ।

हाल राष्ट्र उत्थान लघुवित्तको चुक्तापूँजी २६ करोड रुपैयाँ रहेको छ । यो लघुवित्तले हालसम्म सरप्लस सहितको जगेडा कोषमा १८ करोड ५९ लाख रुपैयाँ जम्मा गरेको छ । हाल लघुवित्तको प्रतिशेयर आम्दानी (वार्षिक) ५ दशमलव ८८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ दशमलव ५३ रुपैयाँ रहेको छ ।