ट्राफिक प्रहरी चुनावमा खटिँदा सवारी व्यवस्थापनको जिम्मा म्यादीलाई
वि.सं.२०७९ कात्तिक २८ सोमवार १५:५४
shares

काठमाडौं, २८ कात्तिक । यति बेला देश चुनावको माहोलमा रहेको छ । सरकारी कर्मचारीहरु, सुरक्षाकर्मी सबै चुनावमा खटिएका छन् । यो अवस्थामा चोकहरुमा सवारी व्यवस्थापन निकै चुनौतिपूर्ण बनेको छ ।
अहिले विभिन्न चोकहरुमा ट्राफिक प्रहरी देखिदैनन् । उनीहरु चुनावमा खटिएका छन् । जसका कारण सवारी चालकहरुले आफु मात्रै चाडो जान खोज्ने कारणले चोकमा जाम धेरै हुने गरको छ । जसले ट्राफिक व्यवस्था फितलो भएको महशुस गरिएको छ । मुख्य चोकहरु समेत अहिले म्यादी प्रहरीको भरमा छाडिएको छ ।
चुनावमा सहयोग गर्ने भनेर भर्ति भएका म्यादी प्रहरीहरु अहिले हातमा सिटी बोकेर चोकमा ट्राफिक व्यवस्थापन गरिरहेको भेटिन्छन् । उनीहरुले आफूले सकेको सम्म व्यवस्थापन गर्ने गरेका छन् । तर ट्राफिकलाई समेत अटेर गर्ने चालकहरुले उनीहरुलाई हेपेरै सवारी चलाएको जस्तो देखिन्छ ।
यसमा सवारी चालक अनुशासनमा बस्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टको भनाइ छ । ‘अहिले ट्राफिक प्रहरी पनि चुनावमा खटिएकाले जन पथ प्रहरी सँगै चोकमा बसेका म्यादी प्रहरीलाई पनि सवारी व्यवस्थापनमा प्रयोग गर्नु परेको छ,’ उनले भने ।

सवारी चालक पनि चिया पसलमा गफ गर्दा विदेशमा यस्तो छ र त्यस्तो छ भन्दै गफ गरिरहेका हुन्छन् । तर उनीहरुले नै सडकमा नियम मिच्ने गरेको प्रवक्ता भट्टले बताए । म्यादी प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाउँदा कुनै जोखिम नहुने उनले दाबी गरे ।
उनीहरु चुनावको समयमा प्रहरीलाई सहयोग गर्नका लागि नै भर्ति भएकाले सवारी व्यवस्थापनमा पनि प्रहरीलाई सहयोग गर्ने काम भइरहेको प्रवक्ता भट्टले बताए । ट्राफिक प्रहरीको संख्या नै न्यून रहेको अवस्थामा ट्राफिक प्रहरी चुनावमा खटिदा व्यवस्थापनमा थप समस्या भइरहेको उनको भनाइ छ ।
उपत्यकामा १ हजार ७०० ट्राफिक प्रहरीले गर्दै आएको सवारी व्यवस्थापनको कार्य ३०० धान्नु पर्ने अवस्था आएको छ । जनशक्ति अभावका कारण पनि म्यादी प्रहरीलाई प्रयोग गर्नु पर्ने बाध्यता रहेको प्रवक्ता भट्टले बताए । ट्राफिक प्रहरीको मात्रै मुख ताक्नुभन्दा सवारी चालक पनि सचेत र सजक बनेको खण्डमा यात्रा थप सहज हुने उनको भनाइ छ ।















