दैलेख क्षेत्र नम्बर २ मा २३ वर्ष पछि काग्रेसको पुनरागमन
वि.सं.२०७९ मंसिर ८ बिहीवार १०:१४
shares

काठमाडौं, ८ मंसिर । कर्णाली प्रदेशको दैलेख जिल्लालाई नेकपा एमालेले आफ्नो प्रभाव रहेको जिल्लाका रुपमा व्याख्या गर्ने गरेको छ । पछिल्लो समय एमालेको यो ब्याख्या गरेजस्तो नतिजा हासिल गर्न भने एमाले पछि परिरहेको छ ।
मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भइसक्दा जिल्लाका संघ तर्फका दुई र प्रदेश तर्फका ४ निर्वाचन क्षेत्रमा एमालेले एउटा प्रदेशसभा मात्रै जित्न सक्यो । स्थानीय चुनावमा पनि दैलेखमा एमाले पहिलेभन्दा कमजोर बनेको थियो भने संघ र प्रदेशको चुनावले एमालेलाई त्यहाँ निकै ठूलो धक्का लागेको छ ।
२०६४ सालमा माओवादीको लहर रहेको समयमा पनि दैलेखका दुईमध्ये एक क्षेत्र एमालेले जितेको थियो । त्यो समयमा एमालेले जित निकालेको क्षेत्र हो क्षेत्र नम्बर २ । तर २०६४ देखि लगातार रुपमा जित निकाल्दै आएको एमालेले यो पटक भने यो क्षेत्रमा पराजय भोगेको छ ।
यो क्षेत्रमा पछिल्लो पटक २३ वर्ष पहिले २०५६ सालमा कांग्रेसले जित निकालेको थियो । २०५६ सालमा यो क्षेत्रबाट कांग्रेसका शिवराज जोशी विजयी भएका थिए । २०६४ सालमा भएको चुनावमा एमालेका राज बहादुर बुढा, २०७० सालमा भएको चुनावमा लक्ष्मी प्रसाद पोखरेल र २०७४ मा भएको चुनावमा पुनः बुढा नै विजयी भएका थिए ।
लामो समयसम्म बुढा र पोखरेल पालैपालो जित्दै आएको यो क्षेत्रमा यस पटक २३ वर्ष पछि कांग्रेसका दिक्पाल कुमार शाहीले जित्दै एमालेको जितको यात्रामा पूर्णविराम लगाइदिएका छन् । शाहीले पोखरेललाई १५३ मतअन्तरले पाराजित गरेका हुन् । शाहीले लामो समय पछि दैलेख क्षेत्र नम्बर २ मा कांग्रेसलाई पुनरागमन गराएका छन् ।















