Dhulikhel Eco Banner new

अङ्ग्रेजी माध्यमको पढाइले विद्यार्थीको आकर्षण

3.65K
shares

काठमाडौं, १५ मंसिर । गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिडछन् । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम ।

कक्षा ७ मा पढ्ने उनि घर अर्खबाङ्गदेखि मालिका–३ ह्वाङ्दीमा पुगछन् । उनिसँगै दीक्षा अर्याललगायतका करिब ५० जना विद्यार्थीहरु गाउँको विद्यालय छाडेर लामो यात्रा गरी पढ्न जान्छन् ।

“त्यति टाढाको विद्यालय नगए पनि हुन्थ्यो भन्ने लाग्छ, आउँदा जाँदा एक झर पानी परे मेरा आँखाबाट आँसु झर्छन्”, अर्खबाङ्गकी ७३ वर्षीया तिलमती बुढाले भने, “नाति–नातिनाको भविष्यका लागि जोखिम मोलेरै भए पनि पढ्न पठाउनुपरेको छ ।”

मालिका–३ मा रहेको देवीस्थान माध्यमिक विद्यालय अङ्ग्रेजी माध्यमबाट कक्षा १० सम्म अध्यापन हुने गाउँपालिकाकै एउटा मात्रै विद्यालय हो । विसं २०५० मा स्थापना भएको विद्यालयमा २०६७ देखि अङ्ग्रेजी माध्यमको पढाइ सुरु भएको प्रधानाध्यापक नारायणप्रसाद अर्यालको भनाइ छ । विद्यालयमा अहिले दुई सय ५७ विद्यार्थीले अङ्ग्रेजी माध्यमबाट पढिरहेको उनले जानकारी दिए ।

अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएपछि विद्यालयमा छिमेकी जिल्ला बागलुङको निगलपानी, चिसापानी र गङ्गरेका विद्यार्थी आउने गरेका छन् । गाउँमा एकमात्र अङ्ग्रेजी माध्यमको विद्यालय भएपछि टाढाका विद्यार्थी पढ्नका लागि आउने गरेको विद्यालयका विज्ञान शिक्षक विकास तामाङले जानकारी दिए ।

विद्यालयमा स्थायी दरबन्दीको अभावका कारण आर्थिक जोखिम मोल्दै भए पनि विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइरहेको छ । चार जना प्राथामिक तहका स्थायी शिक्षकसहित तीन निम्न माध्यमिक र एक माध्यमिक तह गाउँपालिका अनुदान शिक्षक छन् । बाँकी छ शिक्षक र तीन कर्मचारी निजी स्रोतमा छन् ।

गाउँका अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या निरन्तर घट्दा पनि अङ्ग्रेजी माध्यमले गर्दा यस विद्यालयमा विद्यार्थी नघटेको प्रधानाध्यापक अर्यालको भनाइ छ ।