Dhulikhel Eco Banner new

चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ

7.46K
shares

काठमाडौं, १९ मंसिर । “चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झ¥यौँ, अरु पनि झर्छन् अब ।”

निसीखोला–६ का वीरबल घर्ती यतिबेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रतिर छन् । खालीखोला, तिलाचनलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि उनिसहितका भेडा गोठाला तल्लो क्षेत्रमा झर्न थालेका हुन् ।

केही गोठाला बेँसी झरिसकेका छन् भने उनि पनि अब केही दिनमा बेँसीमै आउने तयारीमा छन् । उनि भन्छन्, “पानी प¥यो भने अब माथि मात्रै होइन यहाँ पनि हिउँ पर्छ, माथि चिसो भएपछि यहाँ झरेका हौँ, यहाँ पनि चिसो बढ्दै छ, अब बेँसीमै झर्ने हो, अब एक सातामा तलै झर्छौं, भेडाका पाठा कठ्याङ्ग्रिन थाले, तल नझरे मर्छन् फेरि, गाउँमा गोठ बनाएर तयार बनाई सक्न लागे छन् ।”

उनको गोठमा अहिले चार सयभन्दा बढी भेडा र पाठापाठी छन् । उनले मङ्सिर पहिलो साता झण्डै दुई सय भेडा बेचेको बताउछन् । “मङ्सिर महिनामा धेरैको पूजाआजा हुन्छ, यो बेलामा भेडाको खोजी निकै हुने गर्छ, यसपालि तीन जना भएर बजारतिर गएका थियौँ, तिहार सकाएर गएको व्यापार राम्रो भयो, अलि कति दुःख छ, तर पैसा पनि छ यो व्यवसायमा”, किसान घर्तीले भने ।

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका अधिकांश स्थानीय पशुपालनमा आबद्ध छन् । त्यसले गर्दा उनीहरु वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । बर्सातको समय लेक र हिउँदको समय बँेसी गर्ने उनीहरुको परम्पराजस्तै हो । तमानखोला भेडापालक कृषक मीनबहादुर रोका पनि यति बेला बँेसीतिर झरेका छन् । उनले अब चैत पहिलो हप्ता मात्रै लेक चड्ने बताउछन् ।