GBIME

सानिमा लाइफ इन्स्योरेन्सले कमायो ११ करोड ६१ लाख नाफा

1.19K
shares

काठमाडौं, २५ माघ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ११ करोड ६१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २३ प्रतिशत बढी हो । गत आवमा कम्पनीले रू. ९ करोड ३९ लाख नाफा कमाएको थियो ।

चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ११ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीको चुक्तापूँजी रू. २ अर्ब छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३५ करोड ९० लाख सञ्चित गरेको छ । त्यस्तै जीवन बीमा कोषमा रू. ४ अर्बभन्दा बढी जम्मा भएको छ ।

चालू आवमा कम्पनीले कुल रू. १ अर्ब २४ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा ५ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १ अर्ब १७ करोड बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ६२ (वार्षिक), मूल्य आम्दानी अनुपात ३७ दशमलव ७८ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव १९ छ ।