Dhulikhel Eco Banner new

ढुवानी व्यवसायीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

4.39K
shares

काठमाडौँ, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले ट्रक ढुवानी व्यवसायीको समस्याबारे सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले भारतीय ट्रक निर्वाधरुपमा मुलुकका विभिन्न भूभागमा घुम्ने गर्दा नेपाली ट्रक व्यवसायी अहिले मारमा परिरहेको बताएका छन् ।

उनले भारतीय गाडीले उतैबाट ढुवानी गरेर ल्याउने र नेपालभित्र सबै ठाउँमा सोही गाडी घुम्ने अवस्था रहेको भन्दै भारतीय गाडीलाई भन्सार नाकामै अनलोड गरेर फर्किंने व्यवस्था मिलाउन माग गरे ।

विपद् व्यवस्थापनको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारी संयन्त्रलाई तयारी अवस्थामा राख्न पनि सांसद नेपालीले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सोही पार्टीका सांसद बीना लामाले धादिङको उत्तरी खण्डको सडक स्तरोन्नति गर्न माग गरे । उनले रुविभ्याली गाउँपालिकाका कतिपय क्षेत्रका जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न पनि ध्यानाकर्षण गराए ।

उनले भौगोलिक विकटता र स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्ने समेत माग गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रेखा यादवले संसद्मा अड्किएका विधेयक चाँडो अघि बढाइनुपर्ने माग गरे ।

लघुवित्तको ठगी नियन्त्रण र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गरे । कृषकलाई कृषक परिचयपत्रको व्यवस्था गरी मलखाद्य र सिँचाइको सुनिश्चितता गराउनेतर्फ सम्बन्धित निकायलाई सक्रिय बनाउन उनले आग्रह गरे ।