कसरी पुर्याउँदै छन् बीमा कम्पनीले चुक्ता पुँजी, कुन कम्पनीको चुक्ता पुँजी कति ?
वि.सं.२०८० असार २१ बिहीवार ०८:००
shares

काठमाडौं, २ चैत । नेपाल बीमा प्राधिकराण (साविक बीमा समिति) ले बीमा कम्पनीलाई चुक्ता पुँजी वृद्धि गर्नका लागि निर्देशन दियो । प्राधिकरणले निर्देशनसँग चुक्ता पुँजी वृद्धिका लागि मर्जरमा जानका लागि पनि सुझाब दियो । प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीहरु मर्जरमा जाने कुरा पनि सुरु भयो । केही बीमा कम्पनी एक आपसमा मर्ज भएर संयुक्त कारोबार पनि गरिसकेका छन् भने केहीले संयुक्त कारोबार गर्ने तयारी गरिरहेका छन् ।
केही कम्पनीहरुले मर्ज भएर पनि प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन नसक्ने देखिन्छ । प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्ता पुँजी कायम गर्न भनेको छ । जीवन बीमा तर्फ हालसम्म नेपाल लाइफ इन्स्योरेन्सको मात्रै चुक्ता पुँजी पुगेको अवस्था छ । यो कम्पनीको चुक्ता पुँजी प्राधिकारणले बढाउन निर्देशन दिनुभन्दा पहिले नै ५ अर्बभन्दा बढी थियो ।
अहिले मर्ज भएर एकीकृत कारोबार सुरु गरेका सूर्य ज्योति लाइफको चुक्ता पुँजी सूर्य र ज्योति लाइफ मिल्दा पनि ५ अर्ब पुग्न सकेको छैन। सूर्य ज्योति लाइफले ५ अर्ब चुक्ता पुँजी कायम गर्नका लागि अझै ४५ करोड ४४ लाख २७ हजार ९०० रुपैयाँ थप्न पर्ने हुन्छ । यो अवस्थामा बाँकी रहेको पुँजी पुर्याउनका लागि बोर्डले नै निर्णय गर्ने सूर्य ज्योति लाइफ इन्स्योरेन्सका सूचना अधिकारी उमेश प्रसाद मैनालीले जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार अहिलेको अवस्थामा सबैभन्दा कम चुक्ता पुँजी राष्ट्रिय बीमा संस्थानको रहेको छ । प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार बीमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रहेको छ । यो सरकारी स्वामित्वको संस्था हो । संस्थानले प्राधिकरणले तोकेको पुँजी पुर्याउनका लागि ४ अर्ब ८१ करोड ८९ लाख ८० हजार रुपैयाँ थप्नु पर्ने हुन्छ ।
पछिल्लो समय मर्जरको अन्तिम अवस्थामा रहेका प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्बभन्दा बढी पुग्ने छ । यी तीन कम्पनी मर्जर भएर बन्ने कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७० करोड पुग्ने छ । त्यस्तै बीमा प्राधिकराणले तोकेको पुँजी पुर्याउन नसक्ने कम्पनीहरु अहिले मर्जरको तयारीमा रहेका छन् । प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनका लागि रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेस मर्जको तयारीमा रहेको रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए । यी दुई कम्पनी मिल्दा पनि प्राधिकरणले तोकेको चुक्ता पुँजी अपुग हुन्छ । यी दुई कम्पनी मिल्दा ४ अर्ब १० करोड पुग्छ । बाँकी रहेको अपुग पुँजी बोनश वितरणबाट पुर्याउने तयारीमा रहेको पोखरेको भनाइ छ ।
हालको अवस्थामा प्राधिकरण तोकेको चुक्ता पुँजी पुर्याउनका लागि अधिकाशं कम्पनीले मर्जरको तयारी गरिरहेका छन् । अहिलेको अवस्थामा नेशनल लाइफ इन्स्योरेन्सले ३५ करोड ९५ लाख ६८ हजार १२५ रुपैयाँ चुक्ता पुँजी अपुग छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनको २ अर्ब ३४ करोड ६८ लाख, एशिएन लाइफ इन्स्योरेन्स्को २ अर्ब ९ करोड १८ लाख ८८ हजार ९२५, त्यस्तै सानीमा लाइफ, प्रभु लाइफ इन्स्योरेन्सको ३ अर्ब पुँजी अपुग रहेको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरको अन्तिम तयारीमा रहेका छन् । यी दुई कम्पनी मिल्दा पनि केही पुँजी अपुग हुन्छ ।
कुन जीवन बीमा कम्पनीको कति छ पुँजी ?
| सि. नं. | जीवन बिमा कम्पनीको नाम | चुक्ता पुँजी | थप्नुपर्ने पुँजी |
| १. | राष्ट्रिय बिमा संस्थान | १८,१०,२०,००० | ४,८१,८९,८०,००० |
| २. | नेशनल लाइफ इन्स्योरेन्स | ४,६४,०४,३१,८७५ | ३५,९५,६८,१२५ |
| ३. | नेपाल लाइफ इन्स्योरेन्स | ८,२०,७९,६६,५५४ | प्रर्याप्त |
| ४. | लाइफ इन्स्योरेन्स कर्पोरेशन | २,६५,३२,००,००० | २,३४,६८,००,००० |
| ५. | एसियन लाइफ इन्स्योरेन्स | २,९०,८१,११,०७५ | २,०९,१८,८८,९२५ |
| ६. | गुराँस लाइफ इन्स्योरेन्स | २,२३,९३,७०,००० | २,७६,०६,३०,००० |
| ७. | प्राइम लाइफ इन्स्योरेन्स | ३,१४,०९,६५,६०२ | १,८५,९०,३४,३९८ |
| ८. | आईएमई लाइफ इन्स्योरेन्स | २,८०,००,००,००० | २,२०,००,००,००० |
| ९. | युनियन लाइफ इन्स्योरेन्स | २,१५,००,००,००० | २,८५,००,००,००० |
| १०. | सन् नेपाल लाइफ इन्स्योरेन्स | २,२४,००,००,००० | २,७६,००,००,००० |
| ११. | रिलायन्स लाइफ इन्स्योरेन्स | २,१०,००,००,००० | २,९०,००,००,००० |
| १२. | रिलायबल लाइफ इन्स्योरेन्स | २,८०,००,००,००० | २,२०,००,००,००० |
| १३. | सिटिजन लाइफ इन्स्योरेन्स | २,६२,५०,००,००० | २,३७,५०,००,००० |
| १४. | सानिमा लाइफ इन्स्योरेन्स | २,००,००,००,००० | ३,००,००,००,००० |
| १५. | प्रभु लाइफ इन्स्योरेन्स | २,००,००,००,००० | ३,००,००,००,००० |
| १६. | महालक्ष्मी लाइफ इन्स्योरेन्स | २,१०,००,००,००० | २,९०,००,००,००० |
| १७. | सूर्य ज्योति लाइफ इन्स्योरेन्स | ४,५४,५५,७२,१०० | ४५,४४,२७,९०० |



















