प्रिमियममा आईपीओ : कमिसनको डरलाग्दो खेल, प्रोभिजन लुकाएर मूनाफा
वि.सं.२०८० वैशाख १४ बिहीवार ०६:०७
shares

काठमाडौं, १३ वैशाख । कारोबार संचालन गरेको तीन वर्ष भित्र बैंक तथा वित्तिय संस्थाले सर्वसाधारणलाई छुट्टाएको शेयर निष्काशन गरी सक्नु पर्ने नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छ । तर नेपाल बीमा प्राधिकरणले शेयर निष्काशन सम्बन्धी यस किसिमको वाध्यात्मक व्यवस्था गरेको छैन । निर्देशनमा रहेको यही लुप होलको कारण बीमा कम्पनीहरुले समयमा नै सर्वसाधारणलाई शेयर जारी गर्न चासो लिदैनन् ।
कारोबार संचालनको पाँच वर्ष विति सक्दा पनि सिटिजन लाईफ इन्स्योरेन्स, सन नेपपाल लाईफ इन्स्योरेन्स, आइएमइ लाईफ इन्स्योरेन्स, रिलायवल लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले सर्वसाधारणलाई छुट्टाएको तिस प्रतिशत शेयर जारी नगरी बसेका छन । पब्लिक लिमिटेड कम्पनी भन्ने, सर्वसाधारणको निक्षेप प्रिमियमको रुपमा संकलन पनि गर्ने तर संस्थागत सुशासन बलियो बनाउन तोकेको शेयर सर्वसाधारणलाई जारी नगरी यी पाँचवटा कम्पनीले मनपरी गर्ने गरेको पाइन्छ । जीवन बीमा कम्पनीहरुको यस्तो अटेरीपनलाई मुक दर्शक बनी सहयोग गर्ने बीमा प्राधिकरण पनि शंकाको घेरामा रहदै आएको छ ।
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने निश्चित अवधि तोकेको छैन । कम्पनी ऐन २०६३ ले धितोपत्रको सार्वजनिक निष्काशन गर्ने पब्लिक कम्पनीले धितोपत्र सम्बन्धी प्रचलित व्यवस्थाको शर्त बमोजिम प्रिमियममा शेयर जारी गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यसै गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ अनुसार कम्पनीले पछिल्लो तीन वर्षको लेखापरिक्षण भएको वित्तिय विवरणमा रहेको प्रतिशेयर नेटवर्थको दुई गुणा मुल्य सम्ममा शेयर निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ । कम्पनी ऐन र धितोपत्र दर्ता तथा निष्काशन विनियमावलीको यही व्यवस्थाको आकर्षणले पाँच जीवन बीमा कम्पनीहरुले जानी जानी समयमा सर्वसाधारणलाई शेयर निष्काशन गरेनन् ।
आवश्यकता भन्दा बढी कम्पनी भएकोले जीवन बीमा कम्पनीहरुमा कडा प्रतिस्प्रर्धा छ । यीनीहरुको संचालन खर्च अत्याधिक रहेको छ। अधिकांश प्रोडक्टहरु नोक्सानमा विक्रि गरिरहेकोले कारोबार गरेर मुनाफा आर्जन गर्ने अवस्था नै छैन । अन्यत्र मुलुकहरुमा पनि संचालित जीवन बीमा कम्पनीहरुले कारोबार संचालनको दश वर्ष सम्म लाभांश वितरण गर्ने अवस्था रहेको पाइदैन ।
नेपालमा पनि जीवन बीमा कारोबारलाई नियम संगत हिसाबले चलाउदा मुनाफा गरी लाभांश वितरण गर्ने अवस्था छैन। जीबन बीमा कम्पनीहरुले वार्षिक वित्तिय विवरण तैयार गर्दा बीमा प्राधिकरणको निर्देशन अनुसार विभिन्न जगेडा कोष र प्रोभिजनको व्यवस्था गर्नु पर्ने हुन्छ । जीवन बीमा कम्पनीहरुले जारी गरिसकेका पोलिसीको भविष्यमा भुक्तानी गर्नु पर्ने बोनस दायीत्वको लागि प्रोभिजन गर्ने व्यवस्था गरेको छ ।
भारत, मलेशिया, पाकिस्तान, बंगलादेश लगायत देशमा भविष्यको बोनस वापत बर्षेनी १०० प्रतिशत प्रोभिजन गर्ने व्यवस्था छ । नेपालका जीवन बीमा कम्पनीहरुले यही प्रोभिजनमा चलखेल गरी निर्देशनले तोकेको चाहिने भन्दा न्यून प्रोभिजन राखि नक्कली मुनाफा देखाउने गरेको देखिन्छ।
नेपाल बीमा प्राधिकरणले बीमाङ्कीय मुल्याङ्कन सम्बन्धी २०७७ को निर्देशनमा भविश्यको लागि भुक्तानी गर्नु पर्ने बोनसको लागि १०० प्रतिशत प्रोभिजन गर्न निर्देशन दियो । तर जीवन बीमा कम्पनीहरुले १० देखि २० प्रतिशत सम्म मात्र प्रोभिजन गरी अत्यधिक मुनाफा देखाउने गरेका र कम्पनीहरुले लाभांश पनि वितरण गर्दै आएका छन ।
प्रोभिजन लुकाएर नक्कली मुनाफा देखाउन र सोही आधारमा लाभाँश वितरण गरी कम्पनीलाई भित्र भित्र कमजोर बनाउने खेल भइरहदा पनि बीमा प्राधिकरण मौन बसिरहेको छ र कम्पनीहरुको चलखेलमा प्रोभिजन घटाउन निर्देशन दिदै कम्पनीहरुलाई झनझन कमजोर बनाउनमा सहयोगि बनिरहेको छ ।
अहिले पाच वटा जीवन बीमा कम्पनी सिटिजन लाईफ, सन नेपाल लाईफ, रिलायवल लाईफ, आइएमइ लाईफ र महालक्ष्मी लाईफ न्यून प्रोभिजनको यही खेलबाट तीन वर्ष अत्याधिक मुनाफा देखाई प्रिमियममा सर्वसाधारणलाई शेयर निष्काशनको योजनामा लागेको देखिन्छ । कारोबारको वास्तविक मुल्याङ्कन गर्दा कुनै कम्पनी मुनाफामा छैनन् । १०० प्रतिशत प्रोभिजन गर्नु पर्नेमा १५÷२० प्रतिशत प्रोभिजन गरी नक्कली मुनाफाको वित्तिय विवरण तैयार गरी सर्वसाधारणलाई ठगी गर्ने प्रयास गरिदैछ ।
यस सन्दर्भमा बीमा प्राधिकरणलाई प्रश्न गर्दा कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम साधारण सभामा प्रिमियममा शेयर निष्काशन गर्ने एजेण्डा लैजान मात्र सौद्धान्तिक सहमती दिएका हौ । प्रिमियममा शेयर निष्काशन गर्न दिने नदिने र कति मुल्यमा दिने भनि निर्णय गर्ने निकाय हामी हैनौ, नेपाल धितोपत्र बोर्डहो भनी पन्छिएको पाइयो ।
धितोपत्र वोर्डमा हाल सम्म कुनै लाभांश वितरण नगरेको, कागजी मुनाफा देखाएर प्रिमियमको रुपमा निक्षेप संकलन गर्ने पाँच जीवन बीमा कम्पनीलाई प्रिमियममा शेयर जारी गर्न दिन मिल्छ , यो त सर्वसाधारण नेपाली ठग्ने काम भएन र? भनि प्रश्न गर्दा यस सम्बन्धी निर्णय भइनसकेको भनी पन्छिन खोजेको देखियो ।
पाँच वर्ष अगाडी तत्कालिन बीमा समितिले एकै पटक दश वटा जीवन बीमा कम्पनीलाई कारोबार इजाजत दिएको थियो। पाचवटा सानिमा लाईफ, रिलायन्स लाईफ, यूनियन लाईफ, ज्योति लाईफ र प्रभु लाईफले समयमै सर्वसाधारणलाई रु १०० मै शेयर जारी गरे ।
एउटै प्रकृतिका कम्पनी कसैलाई रु. १०० मा कसैलाई रु २०० मा कसैलाई २५० मा जारी गर्न दिदा विवाद हुने देखिन्छ ।निक्षेप संकलन गर्ने संस्थाले सर्वसाधारणको निक्षेपबाट मुनाफा गर्ने र सोही सर्वसाधारणलाई प्रिमियम मुल्यमा शेयर विक्रि गर्न कुनै हालतमा मिल्दैन । जीबन बीमा कम्पनीहरुको हकमा पनि १०० प्रतिशतको फ्युचर बोनस प्रोभिजनलाई कम्पनी नै असुरक्षित हुने गरी १५÷२० प्रतिशत मात्र प्रोभिजन गर्ने र सोही आधारमा नक्कली मुनाफा देखाएर प्रिमियममा शेयर निष्काशन गरी सर्वसाधारणलाई ठग्न कदापी नमिल्ने जीवन बीमा कम्पनीका प्रमुखहरु बताउँछन् ।
यसै सन्दर्भमा रु. १०० मा शेयर जारी गर्ने जीवन बीमा कम्पनीका प्रमुखहरुलाई सम्पर्क गर्दा हामी छिटो शेयर जारी गरेर मुर्ख भयौ, प्रिमियममा शेयर निष्काशन गर्ने पाचवटा कम्पनीले प्रिमियम रकमबाट भविष्यमा राम्रो लाभांश वितरण गर्दा हाम्रो परफरमेन्स नै नदेखिने भयो । प्रोभिजन लुकाएर प्रिमियममा शेयर निष्काशन गर्नु सर्वसाधारण संग सरासर ठगी गरेको मानिने प्रतिकृया दिएका छन् ।
कम्पनीहरु संग करोडौ असुली गरी कागजी मुनाफा देखाएको आधारमा प्रिमियममा शेयर जारी गर्न सहमती दिने बीमा प्राधिकरण र स्वीकृति दिने धितोपत्र वोर्ड यो मामलामा दोषी देखिन्छ । एकै समयमा कारोबार संचालन गरेका एउटै प्रकृतिका कम्पनीहरुलाई फरक फरक रकममा सर्वसाधारण ठगिने गरी प्रिमियम मुल्यमा शेयर निष्काशन अनुमति दिदा भ्रष्टाचार गरेको ठहर्ने र अख्तियार दुरुपयोगमा जाने सम्भावना रहेको कानुन विदहरुको भनाई रहेको देखिन्छ ।


















