Dhulikhel Eco Banner new

बालविवाह रोक्न गाउँपालिकाको योजना, साइकलसहित नगदै १ लाख

3.5K
shares

सिन्धुली, ७ जेठ । सहरमा बालविवाह दर कम भए पनि गाउँघरमा अझै सानै उमेरमा विवाह गर्ने चलन व्यापक छ । यसलाई रोक्नका लागि सरकारले के गर्न सक्ला ? संघीय सरकार र प्रदेश सरकारले विशेष कुनै नीति नलिए पनि एक गाउँपालिकाले भने साइकल र नगदै दिने योजना ल्याएको छ ।

सिन्धुलीको मरिण गाउँपालिकाले उच्च शिक्षामा छात्राको आकर्षण गर्न र बालविवाह अन्त्यका लागि छात्रालाई प्रोत्साहनस्वरुप साइकल र रु एक लाख नगद वितरण गरेको छ ।

आर्थिक वर्ष २०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार साइकल र नगद वितरण गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए ।

छात्रालाई विद्यालयसम्म आउनजान सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको जनाउँदै उनले भने, “हालसम्म गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको र स्तातक तह उत्तीर्ण गर्ने पाँच जनालाई रु एक लाख प्रोत्साहनस्वरुप प्रदान गरेका छाँै ।”

पालिकाभित्र दुई उच्च माध्यमिक विद्यालय छन् । ती विद्यालयमा अध्ययनरत एक सय ६० विपन्न, दलित, आदिवासी जनजाति छात्रालाई पहिलो चरणमा साइकल वितरण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए ।

मरिणले शिक्षा सबैका लागि सहज बनाउन विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यकाल एक वर्ष पूरा भएको अवसरमा अध्यक्ष मोक्तानले आफ्ना एक सय एक महत्वपूर्ण उपलब्धिसमेत सार्वजानिक गरेका थिए ।