सुन तस्करी प्रकरणमा रविको चेतावनी : गम्भीर अनुसन्धान नभए सरकारको दिन गन्ती सुरु हुन्छ
वि.सं.२०८० साउन १० बुधवार १६:४६
shares
फाइल फोटो
काठमाडौं, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुन तस्करी प्रकरणमा कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाउन खोजेको आरोप लगाएका छन् । सरकार गम्भीर ढंगले प्रस्तुत नभए सरकारको दिन गन्ती सुरु हुने चेतावनी समेत दिएका छन् ।
बुधबारको प्रतिनिधि सभामा उनले सुन प्रकरणमा ठूलो सेटिङ भएको दाबी गर्दै प्रमाण नष्ट गर्ने प्रयास भइरहेको आशंका गरे उनले भने ‘कुनै पनि विषयलाई गिजोल्ने मात्र होईन त्यसको अन्त्य र जरासम्म पुग्ने साहस लिएको भए ठिक छ । नत्र केही कर्मचारीहरु थुनेर सरुवा गरेर फाईल खोले झै गर्ने यतिवटा फाइल खोल्यौ भन्ने मात्र गरी फाईल खोल्न थाल्यो भने सरकारको दिन गन्ति सुरु हुन्छ ।’
उनले भने‘ क्वीन्टलका क्वीन्टल सुन आउनु र त्यो विषयमा सामान्य मानीस पक्राउ पर्नु जनताले अचम्म मानेका छैनन् वर्षौैदेखी सेटिङको आधारमा हुँदै आएको छ । यो सेटिङ नेपाली जनताले थाहा पाईसके। ’
तर यस्ता घटनामा सरकारले कर्मचारीलाई कारबाही गर्ने भन्दा पनि सामान्य सरुवा मात्रै गर्ने गरेको भन्दै आपत्ति जनाए ।
‘जब यस्ता घट्नाहरु आउँछन् तब कर्मचारीहरु सरुवा हुन्छन् । सरकारलाई सोध्न चाहन्छु । सरुवा भनेको कारबाही हो? कारबाही गरेको हो कि सरुवा गरेर पुरस्कृत गरिएको हो । यस्तो गम्भीर विषयमा क्वीन्टलका क्वीन्टल सुन आउँने विषयमा विभिन्न निकायका प्रमुखहरुलाई तुरुन्त बर्खास्त गर्नुपर्ने हो कि केहि कर्मचारी सरुवा गरेर साटफेर गर्नुपर्ने हो ?’ उनले भने ‘कयौँ सूचना यस्ता ठाउँमा छन् । समय पाईसकेपछि डामेर छोडेपछि सूचना लुकाउँने प्रशस्त समय मिल्यो अनुसन्धानलाई प्रभावित पार्ने । फोन फम्याट गर्ने समय मिल्यो । कतिलाई टेलिभिजनमा गएर तामा तुलसी खाएर बाँचा कसम खाने समय मिल्यो । यस्तो गम्भीर विषयमा हल्का रुपमा लिन मिल्छ ? यो ठूलो सेटिङ हो जुन पहिला देखी चल्दै आएको छ । सरकारले सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न मिल्दैन् । ’
उनले संसदमा प्रस्तुत गरिएको जरुरी महत्वको प्रस्तावमाथिको छलफल र त्यसप्रति सरकारको गम्भीरता हेरेर आफ्नो पार्टीले थप रणनीति बनाउने बताए ।

















