सरकारी खाता १० अर्ब ऋणात्मक, सरकारसँग भएको पैसा सकियो
वि.सं.२०८० असोज १९ शुक्रवार १२:५०
shares

काठमाडौं, १९ असाेज । नेपाल निर्माण व्यवसायी महासंघले बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर काम गरेको रकम तत्काल भुक्तानी गर्न आग्रह गरे । दाहालले दसैंअघि नै निकासा गर्ने आश्वासन दिए पनि । तर प्रधानन्त्रीले दिएको आश्वासन पूरा हुने सम्भावना न्युन छ । काम गरेको रकम भुक्तानी गर्न सरकारसंग पैसा नै छैन ।
आम्दानीभन्दा खर्च धेरै भएपछि अहिले सरकार अप्ठेरोमा परेको छ । सरकारी खाता १० अर्ब रुपैयाँभन्दा बढीले ऋणात्मक भएको छ । यो आर्थिक वर्ष सरकारले अहिलेसम्म १ खर्ब ९२ अर्ब रुपैयाँ कुल प्राप्ति गरेको छ । यो कुल लक्ष्यको १३.०५ प्रतिशत मात्र हो । कुल प्राप्तिमध्ये राजस्व १ खर्ब ७७ अर्ब रुपैयाँ उठेको छ । कर राजस्व १ खर्ब ६३ अर्ब र गैर कर राजस्व १६ अर्ब रुपैयाँ संकलन भएको छ । अन्य शिर्षकमा सरकारले १४ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ ।
लक्ष्य अनुसार आम्दानी हुन नसकेको अवस्थामा २ खर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । चालुतर्फ १ खर्ब ५३ अर्ब रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको १२.८ प्रतिशत हो ।
चालु वर्ष ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने सरकारको लक्ष्य छ । पुँजीगत बजेट भने ११ अर्ब रुपैयाँ भएको छ । यो कुल लक्ष्यको जम्मा ३.७ प्रतिशत हो । वित्तीय व्यवस्थापनतर्फ ३७ अर्ब रुपैयाँ खर्च भएको छ । यो कुल लक्ष्यको १२.१७ प्रतिशत हो ।
अर्थ मन्त्रालयका अनुसार सरकारी कर्मचारीलाई दसैं भत्तासहित तलब निकास गर्न गरिएकाले खाता ऋणात्मक हुँदै गएको हो । मन्त्रालयका कर्मचारी पहिलो त्रैमास आम्दानीभन्दा खर्च धेरै हुने समय भएकाले स्वभाविक रुपमा लिनु पर्ने बताउछन् । दोस्रो त्रैमासदेखि राजस्व लगायत अन्य आम्दानी लक्ष्य अनुसार नै हुने विश्वास अर्थमन्त्रालयले गरेको छ ।















