ब्याट समाउन छाडेर कोदालो बोकेर निस्कन्छन्
वि.सं.२०८० असोज २५ बिहीवार १३:५१
shares

काठमाडौं, २५ असोज । बिहानको झिसमिसेमै उनका छिमेकीहरु टोलमै रहेको ब्याटमिन्टन कोटमा ब्याट समाउँदै हुन्छन् । उनी अर्थात पर्यटन व्यवसायी एवं लेखक राजन सिंखडा ब्याटमिन्टन समाउन, मर्निङ वाक भन्दै बिहान बिहानै दौडन मन पराउँदैनन् । छिमेकी ब्याट बोकेर ब्याटमिन्टर कोटतिर लाग्दै गर्दा काँधमा कोदालो बोकेर खेततिर दौडिन्छन् । एकाबिहानै काँधमा कोदालो बोकेर हिँडेको देखेपछि कतिले उनलाई हेयको भावमा भन्छन् पनि ‘जहाँ गए पनि कोदालो चाँही नछोड्ने भो ।’ त्यसो भन्नेलाई जवाफ दिँदै भन्छन् ‘तपाईले ब्याटमिन्टन खेल्दा र मैले कोदालो चलाउँदा पसिना उत्तिनै निस्कने हो । तपाईलाई भोली घुँडा दुख्न सक्छ मलाई केही पनि हुँदैन । कोदालो चलाएबापत मेरो खेतमा धान फल्छ ।’
धादिङको दार्खामा जन्मिएका सिंखडा मुलुकका सफल पर्यटन व्यवसायीका रुपमा चिनिन्छन्, ट्राभल, ट्रेकिङ, होटललगायत दर्जनौं संस्थामा लगानी गरेका सिंखडालाई नपुग्दो केही छैन । ‘ऐस’को जिन्दगी जिउन सक्छन् । ‘कोदालो बोकेर खेतमा काम गर्दा वास्तवमै ‘ऐस’को जिन्दगी जिएको अनुभुति हुन्छ ।’ ‘ऐस’ आरामको नयाँ तरिकाबारे जानकारी दिए । गाउँको कुरा छाडौं काठमाडौंमा भएको बेला उनको बिहानी प्राय कोदालो चलाएरै बित्छ । काठमाडौंमा घर बाहेक आफ्नै प्रसस्तै खेती गर्ने जमिन छैन । छेउछाउका (अरुका) घडेरीहरुमा पनि सिजन अनुसार खेती गर्ने गरेका छन् । वर्खामासमा धान रोप्छन् ‘अहिले त धेरैले घर बनाइसके । दुई चार वर्ष अघि त १२/१५ मुरी धान फलाएको थिएँ ।’ उनले भने ।
धादिङको दार्खामा जन्मिएका सिंखडाले प्रारम्भिक शिक्षा गाउँमै पढेका हुन् । गाउँमा हुँदा पनि बोट, बिरुवा र माटोप्रति उनको प्रेम औधी थियो । ‘मलाई खेतीपातीमा विशेष रुची छ । गाउँमा पनि बडहर, सुन्तला, अमिलो, बाबियोलगायतका रुख, बिरुवा रोप्ने काम गरिरहन्थेँ ।’ उनले स्कुल पढ्दा लगाएका कतिपय बिरुवा अहिले ठूला रुख भैसकेका छन् । गाउँ गएको बेला त्यही रुखको छहारीमा बसेर खास आनन्द लिने गरेका छन् ।
प्रकृती, माटोको सुगन्ध मन नपराउने मान्छे संसारमै हुँदैन जस्तो लाग्छ उनलाई । तर, यहि माटो र पानीमा रमाउँनेहरु सबै भन्दा धेरै हेपिएको महसुस् गरेका छन् उनले । सुर्ती उत्पादक किसान सँधै गरिब हुने तर, चुरोट बेच्ने धनी भएको प्रसंग निकाल्दै भन्छन् ‘नेपालमा उखु किसान कहिल्यै उँभो लाग्दैन । चिनी ब्यापारी सँधै धनी हुन्छन् ।’ यसो हुनुमा हाम्रो ब्राण्डिङ गर्ने शैलि पनि कमजोर भएको हो कि जस्तो लाग्छ उनलाई । सडक पेटीमा फिँजाएर तरकारी बिक्री गर्ने गरेको उदहारण दिँदै भन्छन् ‘खुट्टामा लगाउने जुत्तालाई -याकमा सजाएर बत्ति बालेर राखिन्छ तर, भान्सामा पाक्ने तरकारी बाटोमा फिँजाएर राख्ने चलन छ ।’
धेरैले भन्ने गरेका छन् ‘व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन । यसको मुल जड नै मानसिकतामा रहेको बताउँदै भन्छन् ‘अब हामीले सोच्ने शैलिमा नै परिवर्तन गर्न जरुरी छ ।’
धेरै दलका धेरै नेताहरुले लामै समयदेखी देश बनाउने कुरा गर्दै आएपनि देश नबनेको उनको मान्यता छ ‘हाम्रोमा सोच्ने शैलिमा परिवर्तन गर्न निकै ढिला भैसक्यो । अब सोच्ने शैलीमा परिवर्तन नगरी नहुने भएको छ ।’ त्यसो त देश विकासको बारेमा मुलुकमा चिन्तकहरुको पनि अभाव देख्छन् ।
विदेश जाने लहड
युवाहरु विदेश जानु ‘स्टेट अफ माइन्ड’ हो भन्ने लाग्छ उनलाई । विदेश गएकाहरुले समुन्द्रको छेउमा उभिएर वाइन पिएका, कट्टु र कालो चश्मा लगाएका फोटो सामाजिक सञ्जालमा राख्छन् । ति फोटो हेरेर एउटा जमातले बुझ्छ ‘वाह विदेशमा स्वच्छन्द छ ।’ ति फोटो देख्ने बितिकै उसका दौंतरीहरुले सोच्छन् ‘वास्तवमै मोज छ विदेशमा ।’
अर्को कुरा विदेश जानेहरुले ‘हामीसँग त पैसै पैसा हुन्छ’ जस्तो सन्देश पनि दिएका छन् । जुन कुरा यथार्थ होइन । उनको बुझाईमा दुई तीन थरी मान्छे अनिवार्य विदेश जान्छन् । एउटा वर्ग छ । स्कुल पढ्दा पढ्दै एक अर्कालाई मन पराउँछन् । विवाह गर्न चाहन्छन् । जात, भातदेखी अरु धेरै कुराको त्रास हुन्छ । ‘यहि बस्यो भने बा आमाले एसेप्ट गर्दैनन्’ भनेर पनि विदेश जान्छन् । उतै विवाह गर्छन् र छोरा छोरी जन्मिएपछि बाआमालाई बोलाउँछन् ।
अर्को एउटा वर्ग छ । अलि अलि पैसा कमाएको छ । नेपालमा सुरक्षित छैन कि ? जुनसुकै बेला मेरो सम्पत्ति हडप्छ कि, खाइदिन्छ कि भनेर पिरलिन्छ अनि पलायन हुन्छ । समस्या नेपालमा भन्दा विदेशमा बढी देखका छन् सिंखडाले । सिंगै युरोपमा केही वर्षमै समस्या आउने सम्भावना देख्छन् उनी ।
सम्भावना आफैंले क्रेट गर्ने हो
विदेश जाने मध्ये धेरैले भन्ने गरेको एउटा वाक्य छ ‘नेपालमा सम्भावना छैन ।’ आफैं सम्भावना कहिँ पनि हुन्छ भन्ने लाग्दैन सिंखडालाई ‘सम्भावना भन्ने कुरा क्रेट गर्ने हो । आफैं कँही पनि सम्भावना हुन्न ।’ घर चुहियो भने छाउने सुझाव दिने सिंखडालाई चुहिएको बहानामा घरै छाडेर जाने प्रवृत्ति घातक लाग्छ ।’
लोकतान्त्रिक समाजमा आम नेपालीको हातमा अधिकार आएको सर्वस्वीकार्य छ । केन्द्रदेखी वडासम्मै जनताले चुनेको प्रतिनिधी निती निर्माण तहमा पुग्ने भएकाले सजिलो तरिका सिकाउदै सिंखडा भन्छन् ‘योग्य मान्छेलाई जिताएर ठाउँमा पठाऔं । धेरै समस्या आफैं समाधान हुन्छ ।’


















