आर्थिक अवस्था कमजोर भएकालाई महंगो बीमा गराउँदा बीमा व्यवसाय धरापमा
वि.सं.२०८० असोज २६ शुक्रवार १८:५२
shares

काठमाडौं, २६ असोज । बीमा क्षेत्र अर्को ठूलो समस्याको दलदलमा फसेको छ । आर्थिक अवस्था कमजोर भएका नागरिहरुलाई अध्ययन बिना नै बीमा गराउँदा त्यसको मारमा बीमा कम्पनीहरु पर्न थालेको तथ्य उजागर भएको हो ।
नेपाल बीमा प्राधिकरण पहिलो अन्डराईटर अभिकर्ताहरु नै हुने भएकाले अभिकर्ताहरुले बीमितको आर्थिक अवस्थाको बारेमा गहिरो अध्ययन गर्नुपर्ने तर्क गरिरहेको छ । अभिकर्ताहरुले बीमा बुझाउने मात्र नभई बीमितलाई बीमा गराएपछि पनि फलोअप सम्मका सेवा दिनुपर्ने भएकाले ठूला बीमामा हुने गडबढीमा अभिकर्ताहरुको पहिलो हात हुने बीमा प्राधिकरणले ठहर गरेको छ । ‘जहिले पनि बीमामा मरीमरी दिनरात नभनी खट्ने अभिकर्ता हुन्छ अनि केही गडबढी भएमा त्यसको दोष पनि सिधै अभिकर्ताहरु माथि नै थोपरिन्छ ।’ एक जीवन बीमा कम्पनीका अभिकर्ताले केटीएम भ्वाइसँग भने ‘कम्तीमा बीमा कम्पनीले आफूले बेचेका बीमालेख कस्तो व्यक्तिले किन्यो वा कस्ता व्यक्तिले भुक्तानी पाउँदैछ भन्नेसम्म त हेक्का राख्नु पर्छ ।’
अहिले व्यवसाय नपाएर अभिकर्ताहरु निराश भएको बेलामा यो व्यवसायबाट अन्त पलायन हुनुपर्ने बाध्यात्मक स्थिती सिर्जना भएकाले नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुलाई मुछ्ने काम कुनै साहसिक काम नभई कमजोरी रहेको अभिकर्ताको भनाई छ । ती अभिकर्ताको भनाई अनुसार बीमा क्षेत्रमा अभिकर्ताहरुले बीमा कम्पनीका कर्मचारीहरु सरह काम गर्ने भए पनि आफूहरुलाई चाहिँदाको भाँडो नचाँहिदाको ठाँडो जस्तो व्यवहार हुने गरेको बताएका छन् ।
बीमित भन्दा अभिकर्ता बनाउने अभिकर्ताको संख्या बढ्दो
बीमा क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई बीमाशुल्क बुझाउन नसक्दा नसक्दै पनि बीमा हुनुको राज भनेको अभिकर्ताले बीमित खोज्ने भन्दा पनि कमिशन खान नयाँ अभिकर्ता खोज्ने प्रवृत्ती मौलाएकोले हो भन्ने देखिन्छ । बीमा प्राधिकरणले अभिकर्ताहरुलाई नागरिक र बीमा कम्पनीबिच एउटा मध्यस्तकर्ताको भूमिका खेल्न र जोखिममा रहेका नागरिकलाई रक्षावरण गर्न लाइसेन्स दिन्छ । यसको वास्तविकता निकै भिन्न पाइने गरेको छ । नागरिकको बीमा गराउँदा भन्दा नयाँ अभिकर्ता बनाउँदा कमिसन धेरै पाइने भएकाले पनि आजकाल अभिकर्ताहरुले बीमा कम्पनीले बीमा व्यवसाय पाउने नागरिक भन्दा पनि आफ्नो खल्ती भर्न अभिकर्ताहरु खोज्न थालेका छन् । अभिकर्ताहरुले नयाँ अभिकर्ताहरु बनाउन मात्रै फोकस हुँदा त्यसको प्रत्यक्ष असर बीमा कम्पनीहरुको नाफामा परेको अवस्था छ । बीमा कम्पनीको आम्दानी र नाफा घट्दा बीमा कम्पनीहरु धरासायी भएको मानिन्छ । अहिले यो समस्या एउटा मात्रै बीमा कम्पनीमा छैन । अधिकांश कम्पनी यस्तै रोगबाट ग्रस्त भएकाले बीमा क्षेत्र नै धरासायी भएको तथ्य तथा टिकाटिप्पणी सुरु हुन थालेको छ ।
बीमा प्राधिकरणलाई भाग्ने छुट छैन
करोडौको बीमाका कारण बीमा कम्पनीहरुले छोटो समयमा ठूलो मात्रामा भुक्तानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बीमाको काम नै बीमा गराउने र भुक्तानी गर्ने हो । भुक्तानी गर्ने नै काम भए पनि यसमा असामान्य अवस्था सिर्जना हुन थालेको छ । बीमा कम्पनीहरुले वार्षिक रुपमा दुई चार वटा ठूला बीमाको दावी भुक्तानी गर्नुपर्ने भएपनि अहिले त्यस्तो संख्या बढेर १०,१२ पुगेको बीमा कम्पनीहरु बताउँछन् ।
नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनी वा बीमा अभिकर्ताहरुले गल्ती गरे भनेर उम्किने छुट छैन । पहिले नै ठूला रोग पहिचान भएका बीमितहरुको समेत बीमा गर्नु गैर कानुनी मानिन्छ । अहिले गैर कानुनी बीमाको संख्या भित्रभित्रै बढि रहेको प्राधिकरणकै आँकडामा देखिन्छ । विगतमा निकै ठूलो दावी भुक्तानी कसैले पाउँदा त्यसमा बीमा प्राधिकरणले पनि साथ दिने गथ्र्यो । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समेत स्वयम उपस्थित भएर त्यस्ता ठूला बीमाको दावी भुक्तानी दिने गर्थे । अहिले भने परिस्थिती केही परिवर्तन भएको छ । त्यसको कारण हो साजन बिक हत्या काण्ड । विगतमा बीमा कम्पनी र अभिकर्ताहरुको कमजोरीका कारण एक यूवकले ज्यान गुमाउनु पर्यो । जीवन बीमा गरेका कारण उनको भुक्तानी तारे होटलबाट भएको थियो । भुक्तानी दिलाउँन बीमा प्राधिकरण अध्यक्ष आफै उपस्थित भए पनि त्यति बेला बीमाबाट धेरै नै कमीकमजोरीहरु भएको भेटिएको थियो । अहिले अध्यक्ष सिलवाल ओपनिङ वा दावी भुक्तानी दिने कार्यक्रममा कमै उपस्थित हुने गरेका छन् ।
बीमा गरेपछि त्यसको जिम्मा बीमा कम्पनी र अभिकर्ताले लिनैपर्छ अझ पुनर्बीमा कम्पनी पनि त्यसमा बढी उत्तरदायी देखिन्छ । भुक्तानीको रकम नै पुनर्बीमाले बीमा कम्पनीलाई पठाउने भएकाले विवादास्पद भुक्तानी पुनर्बीमाले रोक्न पनि सक्नुपर्छ । नेपालका बीमा कम्पनी, अभिकर्ता, पुनर्बीमा कम्पनीहरुको अन्डरराईटिङ त्यति साह्रो मजबुत छैन । यसरी बीमाको समग्र साइकलमा कमजोरी देखिरहेको बेलामा बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले अन्डराईटिङको विषयमा दह्रो रुपका कुनै पनि कदम चालेको देखिँदैन । बीमासँग जोडिएका करोडौका बीमाका गम्भिर विषयहरु एकातिर छन् भने अर्कातिर बीमा प्राधिकरणले अन्तराष्ट्रिय स्तरमा नेपाली बीमा बजारलाई सुधार्दै लैजाने कुनै पनि योजना तयार रहेको छैन ।
अनाहकमा मारमा पर्दै सोझा नागरिकहरु
बीमा क्षेत्रका सरोकारवाला र जाने बुझेकाहरुले गर्दै आएको कमजोरीका कारण मारमा भने सिधासादा जनताहरु नै पर्ने गरेका छन् । आम नागरिकले सबैभन्दा पहिलो कुरा त बीमा बुझ्दैनन् । बीमाको परिभाषा बुझाउने अभिकर्ताहरुले सही कुरा बताउँने भन्दा पनि कमिसनको खेलामा लागेर उनीहरुलाई धेरै बीमांक पाउने लोभ देखाएर ललाई, फकाई ठूलो बीमा भिडाउँछन् । दुई चार किस्ता त नागरिकहरुले जसो तसो तिर्छन् त्यसपछि उनीहरुलाई आफ्नै किस्ता बुझाउन महाभारत पर्छ । बीमाको किस्ता बुझाउँन नागरिकहरुले नसकेको फलस्वरुप बीमा पोलिसीको धमाधम सरेण्डर हुने गरेको छ । त्यसरी सरेण्डर भएका बीमा पोलिसीहरु अधिकांश ठूला बीमा पोलिसी रहेको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ ।
बीमा प्राधिकरणले अपनाउँनु पर्ने अन्तिम विकल्प
अब बीमा कम्पनीले बीमा कम्पनीहरुको वित्तीय विवरणमा झल्काउनको लागि मात्रै दावी भुक्तानी गर्ने गराउँने भन्दा पनि बीमालेख, बीमा कम्पनी, अभिकर्ता र बीमितसम्मको पूर्ण जानकारी राख्ने हैसियत बनाउँनु पर्छ । बीमा प्राधिकरणले नियामकीय अधिकार त पाएको छ यही बेलामा गरिब नागरिकको ठूला ठूला बीमा हुने, नपत्याउँदो खालका सरेण्डर बढ्ने र बीमा कम्पनीहरुले नागरिकहरुको जोखिम लिनुको साटो उल्टै कम्पनी नै धरासायी बनेको अवस्था छ । यस्तो अवस्थामा नेपाल बीमा प्राधिकरणले आफ्नो गल्ती स्वीवकार्दै बीमा क्षेत्रको हितका लागि सोचेर सम्झेर कदम चाल्नु उचित देखिएको छ ।


















