आन्तरिक कर्जा २ प्रतिशतले बढ्यो
वि.सं.२०८० मंसिर २८ बिहीवार १३:३२
shares

काठमाडौं, २८ मंसिर । आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल आन्तरिक कर्जा २.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.१ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा यस्तो कर्जा ८.८ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
त्यस्तै समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.१ प्रतिशतले बढेको थियो । त्यसैगरी समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी २.४ प्रतिशतले बढेको थियो ।



















