‘२ लाख श्रमिकको रोजगारी खोसेर लगानी सम्मेलन गर्नुको कुनै अर्थ छैन’
उद्योगी गोल्यानको प्रश्न– ५ हजारलाई रोजगारी दिनु अपराध हो र ?
वि.सं.२०८० पुस १६ सोमवार ११:५८
shares
चर्चित उद्योगी पवन कुमार गोल्यान
काठमाडौं, १६ पुस । नेपाल विद्युत प्राधिरणले उद्योगीहरुको लाइन काटेर अहिले बजारमा आतंक सिर्जना गरेको छ । प्राधिकरणको हर्कतविरुद्ध उद्योगीहरु एकजुट भएका छन् । अझ रोचक कुरा त, प्राधिकरणले आफूसँग प्रमाण समेत नराखी उद्योगीहरुलाई पैसा तिर्न भनेको छ ।
लाखौलाई स्वदेशमै रोजगारी दिएर मुलुकको अर्थतन्त्रका लागि महत्वपूर्ण योगदान दिइरहेका उद्योगमाथि राज्यले अपराधी सरह व्यवहार गरेको उद्योगीहरुको भनाइछ । उद्योगी पवनकुमार गोल्यानले मात्रै ५ हजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अरु धेरैलाई रोजगारी दिएका छन् । तर, प्राधिकरणले अहिले उद्योग नै बन्द हुने गरी लाइन काटिदिएको छ । गोल्यान भन्छन्, ‘क् ५ हजारलाई रोजगारी दिनु अपराध भयो र ?’
उनले आफूले प्राधिकरणलाई कानुनसम्मत एक रूपैयाँ पनि तिर्न बाँकी नरहेको बताए । डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन उद्योगीहरु एकजुट भएर आइतबार पत्रकार सम्मेलन नै गरेका थिए । उद्योगी गोल्यान आफैमा नेपाल र नेपाली माटोलाई अत्यधिक माया गर्ने मान्छे हुन् । उनले कृषिमा बढाएको लगानी र स्वदेशी उत्पादनलाई दिएको प्राथमिकताको जति प्रशंसा गरेपनि कम हुन्छ ।
कृषिमा ठूलो लगानी चाहिन्छ भनेर गोल्यान समूहले झापामा ठूलो क्षेत्रफलमा कृषिखेती गरिरहेको छ । त्यतिमात्रै होइन नेपाली उत्पादनलाई विश्वसामू चिनाउनका लागि भन्दै गोल्यान समूहले माटो नामको ब्राण्ड नै स्थापना गरेको छ । नेपाल र नेपाली उत्वादनलाई विश्वभर चिनाउन र नेपालमै रोजगारी सिर्जनाका लागि आफ्नो सम्पूर्ण इनर्जी खर्चिरहेका उद्योगी गोल्यान यतिबेला प्राधिकरणले अनावश्यक तनाव दिएको बताउछन् ।
उनले विद्युत प्राधिकरणले कानूनी प्रमाण देखाए बिल भुक्तानी गर्ने बताए । उनले सबैतिर रिलायन्स स्पिनिङ मिल्सले पनि १ अर्ब ९४ करोड तिर्न बाँकी रहेको भन्ने कुरा बाहिर आएको भन्दै मिल्सले विद्युत महशुलको कुनै पनि रकम तिर्न बाँकी नरहेको स्पष्ट पारे । उनले अन्य धागो उद्योग समस्यामा परेको कारण त्यसको सजाय स्वरूप आफूलाई अतिरिक्त शुल्क दिन भनिएको दाबी गरे ।
उनले अब उद्योगी व्यवसायीहरु मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले प्राधिकरणले उद्योगको नाम नै तोकेर कति घण्टा लोडसेडिङ हुन्छ भनेर तालिका निकालेको भन्दै लाइन दिएको भए यो तालिका किन निकालिएको थियो ? भन्दै प्रश्न गरे । उनले उद्योगहरुलाई विद्युत दिने नियत कहिल्यै पनि नभएको बताए । उनले आफू कुनैपनि महिनाको विद्युत महशुल बाँकी नराख्ने ग्राहक रहेको बताए ।
उनले कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर सेन्टिमेण्टल कुरा गरेको बताए । उनले उद्योग खोलेर पाँच हजार नागरिकलाई रोजगार दिनु अपराध हो ? भन्दै प्रश्न गरे । उनले उद्योगको लाइन काटेर दुई लाख श्रमिकको जागिर खोसेर राज्यले लगानी सम्मेलन गर्नु जायज नहुने बताए । उनले सरकारले भएका उद्योगहरु सबै बन्द गराउने काम गरिरहेको बताए । उद्योगी व्यवसायीहरु मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो ? भन्दै आक्रोश पोखे ।
उनले डेडिकेटेड र ट्रंक लाइनको महशुलको विषयमा ४ अर्बबाट २२ अर्ब देखाएर जनतालाई भ्रमित बनाउने काम प्राधिकरणले गरेको बताए । उनले डिओडी विलको जिम्मेवार प्राधिकरणले लिनुपर्नेमा व्यवसायीहरुलाई भारी बोकाउनु गलत भएको बताए ।


















