Dhulikhel Eco Banner new

बर्खास्त हुने डरले राजीनामा बुझाए प्राधिकरण अध्यक्ष खनालले

खनाल राजीनामाका ५ कारण

6.81K
shares

काठमाडौं, २४ पुस । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट बर्खास्त हुने लगभग पक्कापक्की जस्तै थियो । पदबाट लज्जास्पद बर्खास्तीमा पर्ने भएपछि खनालले आत्तिएर मंगलबार विहान कार्यालय समय खुल्नु अगावै राजीनामा तयार पारेर बुझाएका हुन् ।

एमडिएमएस र टेरामक्स खरिद प्रकरणमा मुछिएका खनालको कमजोरी एनसेल प्रकरणमा समेत देखिएको थियो । मन्त्रालयले सहसचिव नेतृत्वमा बनाएको कार्यदलले एमडिएमएस खरिद प्रकरणमा अनियमितता भएको भन्दै मन्त्रीलाई प्रतिवेदन दिएको थियो । कार्यदलले प्राधिकरण अध्यक्ष खनालको समेत संलग्नता देखिएको भन्दै प्रतिवेदन दिएपछि मन्त्रीलाई पदबाट बर्खास्त गर्न सहज भएको थियो ।

यद्यपि, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेशा शर्माले सिधै पदबाट बर्खास्त गर्न चाहिनन् । मन्त्रालयमा बोलाएर मन्त्रीले राजीनामा दिएर छानवीनमा सहयोग गर्न अनुरोध गरेकी थिइन् । मन्त्रीको अनुरोध खनालले सुरुमा स्वीकार गरेनन् । तर, मन्त्रीले बर्खास्त गर्नेसम्मको तयारी गरेपछि खनालले मंगलबार विहानै राजीनामा बुझाएका हुन् ।

खनालको राजीनामाका कारण एमडिएममात्रै होइन । एमडिएमएससँगै अन्य ४ कारणहरु समेत रहेको दुरसञ्चारका अधिकारीहरु बताउछन् । उनलाई पदबाट हटाउनका लागि चर्चित उद्योगी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी समेत चाहान्थे । चौधरीको सिजी टेलिकिमको म्याज सकिएर स्वतः खारेजी हुनुमा खनालको समेत कारण गरेको चौधरी निकटहरुले बताउने गरेका छन् ।

खनालको पदमुक्त हुने तेस्रो कारण टेरामक्स खरिद प्रकरण हो भने चौथो एनसेल प्रकरण हो । मंगलबार नै राजीनामा दिनु पर्ने प्रमुख कारण भने बर्खास्ती नै हो । एनसेल प्रकरणमा पनि खनालको धेरै कमजोरी रहेको सरकारको बुझाइ छ । तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको ६ साउन २०७६ को मन्त्रिपरिषद् बैठकले उनलाई पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।