Dhulikhel Eco Banner new

जीवन विकासको २६ औं साधारणसभा सम्पन्न, कर्मचारी सम्मानित

3.55K
shares

विराटनगर, १९ फागुन । जीवन विकास समाजको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५४ सालमा स्थापित जीवन विकास समाजको शनिबार २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । गरिबी रहित नेपालको परिकल्पना सहित स्थापना भएको जीवन विकास समाजले शिक्षा, स्वास्थ्य, कृषि र वित्तीय क्षेत्रमा काम गरिरहेको छ ।

जीवन विकास समाजले वित्तीय सेवा प्रवाहका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था सञ्चालन गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा जीवन विकास पब्लिक हेल्थ सेन्टर सञ्चालन गरिरहेको समाजले एक सय बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल सञ्चालनको तयारी गरिरहेको छ ।

शिक्षा क्षेत्रमा जीवन विकास पब्लिक स्कुल सञ्चालन गरिरहेको समाजले समुदाय स्तरमा बालबालिका सिकाइ केन्द्र र बाल शिक्षा अध्ययन केन्द्र पनि सञ्चालन गरिरहेको छ । कृषि क्षेत्रमा समाजले प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट सञ्चालन गरिरहेको छ ।

साधारणसभाका प्रमुख अतिथि मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले गरिबी रहित नेपाल निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताए । समाजको संस्थापक अध्यक्षसमेत रहेका मण्डलले संस्थाले समाजको समग्र क्षेत्रको विकासका लागि काम गरिरहेको बताए ।

‘गरिबले उपचार नपाएको र मृत्युपछि पनि पैसा नहुँदा लास निकाल्न नपाएको धेरै सुनेका छौं,’ उनले भने,‘जीवन विकासले सञ्चालन गर्ने अस्पतालमा विपन्नले निशुल्क उपचार पाउँछन्, अति विपन्नका लागि किरिया खर्च पनि दिने वातावरण बनाउँछौं ।’

कार्यक्रममा कोशी प्रदेशका प्रदेशसभा सदस्य गयानन्द मण्डलले जीवन विकासले समाज केन्द्रित काम गरिरहेको बताए । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जीवन विकास समाजले नागरिकलाई घरसम्म पुगेर सहज रुपमा प्रवाह गर्ने सेवाले राम्रो सन्देश दिने बताए ।

जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जीवन विकासले समुदायको हरेक समस्या सामदान गर्ने उद्देश्यसहित सेवा प्रवाह गरिरहेको बताए । दिगो विकासका लागि लघुवित्तले सोसियल बिजनेशको रुपमा काम गरिरहेको उनको भनाई छ ।

जीवन विकास लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले समाजको २६ वर्षको यात्रामा अनेकौं उतारचढाव व्यहोरेको बताए ।

जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डलले गरिबी रहित समाज निर्माणका लागि शिक्षा, स्वास्थ्य, वित्तीय क्षेत्रसँगै कृषि र रोजगारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।

कर्मचारी सम्मानित
साधारणसभाको अवसरमा पुराना र उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । लघुवित्तमा २० वर्ष सेवा गरेका तीन जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

लघुवित्तबाट २० वर्ष सेवा प्रवाह गरेका कर्मचारी सञ्जयकुमार साह, अन्जयकुमार मण्डल र रमेश रायलाई समाजका संस्थापक अध्यक्ष मण्डलले सम्मान पत्र प्रदान गरे ।

त्यस्तै, सन्तोषी साह, अभय मगर र सवारी चालक गणेश खड्का पनि सम्मनित भएका छन् । स्वास्थ्य क्षेत्र तर्फ जीवन विकास पब्लिक हेल्थ सेन्टरमा कार्यरत जगतबहादुर बस्नेत र अनु दाहाल सम्मानित भएका छन् ।

जीवन विकास मुनाफा वितरण नगर्ने संस्थाका कर्मचारी कुन्दन मण्डल तथा जीवन विकास पब्लिक स्कुलका प्रमोद मण्डल, सुनिताकुमारी चौधरी र उपेनकुमार मण्डल साधारणसभामा सम्मानित भएका छन् ।