Dhulikhel Eco Banner new

बजेट सकारात्मक आयो, कार्यान्वयनमा ध्यान दिइयोस्

4.2K
shares

काठमाडौं, १५ जेठ । सरकारले सार्वजनिक गरेको नयाँ बजेटले निजी क्षेत्रलाई उत्साहीब बनाएको यस क्षेत्रका सरोकारवालाले बताएका छन् । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० को नयाँ बजेटले निजी क्षेत्रका धेरै कुरालाई समेटेको भन्दै उनीहरुले बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका हुन् ।

निजी क्षेत्रका ठूला संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बजेट निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गर्न सफल भएको प्रतिक्रिया दिएका छन् । यी संस्थाका अध्यक्षहरुले बजेटलाई सकारात्मक रुपमा लिएको बताइएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संकुचित आर्थिक स्थितिमा सरकारले ल्याएको बजेट सकारात्मक नै रहेको बताए । बजेट निजी क्षेत्रको अधिकांश माग सम्बोधन गर्न खोजेको उनको भनाई छ । ‘साना ठूला उद्योगलाई बजेटले राम्रोसँग सम्बोधन गरेको छ । साना र ठूला उद्योगलाई सहुलियत कर्जाको विषय बजेटमै आउनु राम्रो छ,’ अध्यक्ष गोल्छाले भने । विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट किन्न पाउने व्यवस्था पनि राम्रो व्यवस्था भएको उनको भनाई छ । महासंघले बजेटबारे विज्ञसँग साक्षात्कार गर्ने पनि उनको भनाइ छ ।

यता नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले उद्योगको जग्गा हदबन्दी पुनरावलोकन, ५० वर्षका लागि जग्गा लिज, उद्योग क्षेत्रलाई पीपीपी मोडलमा प्रवर्द्धन, जस्ता निजी क्षेत्रको माग बजेटले सम्बोधन गरेको भन्दै खुसी व्यक्त गरेका छन् । रुग्ण उद्योगको जग्गा बेच्ने सुविधा, कपडा, सिमेन्ट उद्योगलाई निर्यातमा प्राथमिकता जस्ता विषयले निजी क्षेत्रलाई सकारात्मक असर गर्ने उनको भनाई छ । ‘बजेटका कतिपय विषय स्वागतयोग्य छ । मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई छुट जस्ता विषय राम्रो छ,’ अध्यक्ष अग्रवालले भने ।

उनले भने– ‘एक परिवार, एक विद्युतीय चुल्होको व्यवस्था जस्ता विषयले पनि निजी क्षेत्रलाई राम्रो प्रभाव पार्छ ।’ बजेट सकारात्म भए पनि त्यसको कार्यान्वयन कस्तो हुन्छ त्यो भने पछि थाहा हुन्छ उनले भने । यता नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले समग्रमा बजेट सकारात्मक भएको र यसको कार्यन्वयन चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । ‘करको दायरा बढाएर लैजाने, नागरिकतासँगै प्यान कार्डको व्यवस्था जस्ता गर्नु राम्रो हो,’ मल्लले भने । उनका अनुसार ‘आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनमा समग्रमा बजेट राम्रै छ ।’ कूल ग्राहस्थ उत्पादन र बजेटको स्रोत व्यवस्थामपनमा बजेट कठिन हुने उनको आशंका छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको नयाँ बजेट समग्रमा राम्रो भएको बताएका छन् । ढकालले स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा बजेटले राहात दिने उनको भनाई छ । ‘कृषि उत्पादन वृद्धि, स्वदेशी उत्पादन संरक्षण र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा राम्रो बजेट आयो,’ ढकालले भने, ‘निजी क्षेत्रको माग धेरै हदसम्म राम्रो भयो,’ उनले भने । उद्योगको जग्गा हदबन्दी जस्ता बजेटले सम्बोधन गरेको विषय निकै स्वागत योग्य रहेको उनको भनाई छ ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले पनि बजेट निजी क्षेत्रका लागि सकारात्मक रहेको बताएकि छिन् । बजेट राम्रो भए पनि कार्यान्वयन कसरी हुन्छ त्यसमा निर्भर हुने बताइन् ।
अघिल्लो पटक पनि राम्रा कुरा आएको भन्दै कार्यान्वयन हुन नसकेको भन्दै त्यस तर्फ सरकार सचेत रहनु पर्ने उनको भनाई छ । बजेटमा भएको स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई कार्यान्वयन गर्नु पर्ने उनको भनाई छ ।