Dhulikhel Eco Banner new

मधेश प्रदेश प्रमुख भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आह्वान

5.07K
shares

काठमाडौं,२४ जेठ । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् ।

प्रदेश प्रमुख कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति २०८१/०२/२५ गते शुक्रवार विहान १०ः०० बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न माननीय प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीले आव्हान गरेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

जसपा नेपाल संसदीय दलका नेता यादव १७ महिना अगाडी मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले सत्ता गठबन्धन हेरफेरका कारण चार पटकसम्म विश्वासको मत पाएका थिए । तर पाँचौं पटकमा विश्वासको मत गुमाएसंगै साढे ६ वर्षपछि मधेशको सत्ता जसपा नेपालले गुमाएको छ ।

आज प्रदेशसभामा मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका थिए ।

अब प्रदेशमा सत्ता गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र नेकपा एसले सरकारको दावी गर्नेछन् । सरकारको नेतृत्व जनमतलाई दिने सहमती भइसकेको छ । जनमत पार्टीबाट दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने छन् ।