काठमाडौँ महानगरका निजी विद्यालयका १८ हजार विद्यार्थीले पाए छात्रवृत्ति
वि.सं.२०८१ जेठ २४ बिहीवार ११:५७
shares

काठमाडौं, २४ जेठ । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले छात्रवृत्ति पाउने विद्यार्थीहरूको संख्या सार्वजनिक गरेको छ ।
गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ का १३ हजार भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरण काठमाडौँ महानगरले जानकारी दिएको छ ।
काठमाडौँ महानगरले दिएको जानकारी अनुसार १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएका छन्।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कानुनको पालना मात्र गराउँदा करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
उनले भनेका छन् । हामिले विद्यमान कानुन को कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका विद्यार्थीहरुलाई करिब २ अर्ब बराबर को छात्रवृत्ति उपलब्ध गराउन सफल भयौँ।
प्राप्त भएको विवरणको हामी अनुगमन गर्नेछौ , फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ। हाल सम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिन को समय दिई विवरण पेस गर्नका लागि सार्वजनिक सूचना प्रकाशन गरेका छौ।
३ दिन भित्र विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी काठमाडौँ महानरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गर्ने उनले बताए ।



















