Dhulikhel Eco Banner new

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ७६ जनावर मरे

3.16K
shares

काठमाडौं, ७ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै पन्ध्र प्रजातिका ७६ जनावर मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए । सो अवधिमा गैँडा २१ मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।

यसैगरी प्राकृतिक कारणले ८ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले बताए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् । यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन ।

मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावार प्राकृतिक कारणले मरेको सूचना अधिकारी तिवारीले बताए । मृतावस्थामा भेटिएका जनावारमध्ये ७० जनावार प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको उनले जानकारी दिए ।