Dhulikhel Eco Banner new

प्रहरीद्धारा एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व संकलन

2.17K
shares

काठमाडौं, १३ फागुन । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख बढी राजस्व संकलन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व संकलन गरेको जानकारी दिए ।

सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व सङ्कलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै  २३ करोड ९२ लाख ९१ हजार बढी राजस्व संकलन गरिएको छ । यो कुल राजस्व संकलनको ४५ प्रतिशतभन्दा बढी हो ।

त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट रु १६ करोड २७ लाख राजस्व संकलन गरिएको छ । त्यसैगरी ट्राफिक कारबाहीबाट नौ करोड ५९ लाख, अवैध सुन चाँदी बरामदबाट एक करोड, हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व संकलन गरिएको प्रवक्ता आचार्यले बताए ।

उनका अनुसार स्रोत नखुलेको रकम ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा २२ लाख ५३ हजार, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार र अवैध पशुपन्छी नियन्त्रणबाट १५ लाख ७१ हजार राजस्व संकलन भएको छ ।