Dhulikhel Eco Banner new

चण्डीपूर्णिमामा पलाञ्चोक भगवतीको भव्य जात्रा : तीन दिनसम्म धार्मिक उत्सव

2.93K
shares

काठमाडौं, २१ चैत । पाँचखालस्थित पलाञ्चोक भगवतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अवसरमा ठुलो मेला लाग्ने गर्दछ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका-९ अवस्थित रहेको पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिर मध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा समेत परिचित छ ।

पलाञ्चोक भगवतीको मन्दिरको ऐतिहासिक तथ्यः
करिब एक हजार छ सय ५६ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा पलाञ्चोक भगवती मन्दिर निर्माण भएको शिलालेखबाट प्रमाणित भएको थियो ।

पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीका रुपमा समेत चिनिन्छ । किंवदन्ती अनुसार पलाञ्चोक भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र बोकेर लैजान कोसिस गर्दा मूर्ति बोक्न नसकेपछि सोही स्थानमा भगवतीको मूर्ति राखी पूजाआजा सुरु गरिएको थियो ।

तत्कालीन अवस्थामा ६० घरधुरीले भगवतीको मूर्ति बोक्न सहयोग गरेकाले उक्त स्थानको नाम सोही बेलादेखि ६० घर भगवती भएको बताइन्छ । इस्वी संवत् ४२५ को समयमा कालीगढले दाहिने हातले निर्माण गरेको पलाञ्चोक भगवती, नाला भगवती, देब्रे हातले बनाएको नक्साल भगवती र गोडाले शोभा भगवतीको मूर्ति कुँदिएको किंवदन्ती रहेको छ ।

भगवतीका मूर्तिमध्ये सबैभन्दा पुरानो र दाहिने हातबाट निर्माण गरिएको भगवतीको मन्दिर भएकाले पनि अन्य भगवती मध्ये पलाञ्चोक भगवती बढी चर्चित र प्रमुख गन्तव्यस्थानको रूपमा रहेको पाइन्छ ।

तत्कालीन समयमा भगवतीको मन्दिर निर्माण भएपछि मन्दिरको मौलिक पूजारी को बन्ने ? भन्ने विषयमा काठमाडौँको मखनटोलका बज्राचार्यबाट दैनिक नित्यपूजा र गुठीपूजा गर्ने गरी अनुमति पाएपछि हालसम्म पनि सोही टोलका बज्राचार्य परिवारले नै पूजा गर्दै आएका छन् ।

मन्दिरमा करिब नौ पुस्ता देखि बज्राचार्यहरुले नै पूजारीका रूपमा दैनिक नित्य पूजा र गुठीपूजा गर्दै आएका छन् । पलाञ्चोक भगवती स्थानमा वि.सं. १९९० को भूकम्पले मन्दिर वरपरका घर सबै भत्किएपनि मन्दिरमा खासै ठूलो क्षति नभएपनि भगवतीको शिर पश्चिमतिर ढल्किएको थियो । उक्त मन्दिरमा भगवतीको दर्शन गर्नाले मनले चिताएको पुरा हुने जनविश्वास रहेको छ ।

मन्दिरका पूजारी बज्राचार्यका अनुसार देशमा कुनै विपत्ति तथा सङ्कट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न सङ्केत देखिनुको साथै मूर्तिमा पसिना आउने गर्दछ । भगवतीको दर्शनका लागि दैनिकजसो दर्शनार्थीको भीड लागिरहने भए पनि विशेषरुपमा बडादसैँमा नवरात्रिको समय मन्दिरमा हाँस, बोका, राँगा आदिको बलि दिने प्रचलन छ ।

दसैँबाहेक वैशाखपूर्णिमा, माघे सङ्क्रान्ति, जेठको पूर्णिमा लगायतका चाडपर्वहरुमा मन्दिरमा ठुला मेला लाग्दछ ।

ऐतिहासिक दस्ताबेज अनुसार पृथ्वीनारायण शाहको एकीकरणको समयपछि मन्दिर, पुजारी, गुठियार र बाजागाजा बजाउने समुदायको व्यवस्थापन गरिएको थियो । एकीकरणपछिको समयदेखि पुजारीले दैनिक नित्यपूजा गर्ने, पहरीले रथ बोक्नुका साथै दैनिक नित्यपूजाका लागि फूल ल्याउने, कसाइले काटमार गर्ने, कुस्लेले पूजाको समयमा बाजा बजाउने जस्ता कामको बाँडफाँट गरिएको बताइन्छ ।

पलाञ्चोक भगवतीका नाममा तत्कालीन बालुवा गाविस, दोलालघाट, पाँचखाल, होक्से लगायतका गाविसमा करिब एक हजार आठ सय रोपनी जग्गा स्थानीय मोहीहरूले कमाउँदै आएका छन् ।

पलाञ्चोक भगवती जात्रा, बनेपाको चण्डेश्वरी जात्रा, पनौतीको मकर मेला, भद्रकाली जात्रा, नाला भगवती जात्रा, धुलिखेल खड्पु भगवती जात्रा, चकोर ऋषि चौकोत मेला र साँगाको नासिका भगवती जात्रा जस्तै काभ्रेको पलाञ्चोक भगवती जात्रा देशको प्रख्यात पर्व भित्र गनिन्छन् ।

मानदेव प्रथमको शासनकालमा स्थापित पलाञ्चोक भगवती जात्रा प्रत्येक वर्ष वैशाख बुद्ध पूर्णिमा र आश्विन दसैँमा हुने गरेको छ । किंवदन्ती अनुसार काभ्रेपलाञ्चोकको बुच्चाकोटका आदिवासी श्रेष्ठलाई सपनामा मलाई उत्तरतर्फ लानू भनी आदेश दिएछन् ।

अज्ञात कलाकारद्वारा निर्मित कालो ढुंगाको कलात्मक एक फिट अग्लो महिषमर्दिनी भगवतीलाई लैजाँदै गर्दा बीच बाटोमा देवता जानै मानेनछन् ।

जहाँ देवीलाई प्रतिष्ठापित गरी मखन बहालका बज्राचार्य बौद्ध पुजारी राखी जात्रा थालेको बताइन्छ । बुद्धजयन्तीका दिन बनेपा चण्डेश्वरी जात्राको मूल पूजा भइरहँदा पलाञ्चोक भगवती जात्राका लागि द्यःछेबाट धामी काम्दै भगवतीलाई खटमा प्रतिष्ठापित गराइन्छ । बनेपा चण्डेश्वरी, नाला भगवती, धुलिखेल भगवती, नाक्साल भगवती, साँगा नासिका र शोभावती दिदी बहिनी भएको कारण पलाञ्चोक भगवती जात्रा अघि उल्लेखित देवस्थलबाट फूल अक्षता र जल ल्याउने परम्परा रहेको पाईन्छ ।

जल प्रसादसँग बोका बलि दिई तीन दिनसम्म भव्य खटजात्रा हुने गर्दछ, भनिन्छ विश्वप्रसिद्ध कलात्मक पलाञ्चोक भगवतीको मूर्ति बनाउने कलाकारले अन्य ठाउँमा त्यस्तो मूर्ति बनाउन नसकोस् भनी दायाँ हात काटिदिए । बायाँ हातले नक्साल भगवतीको मूर्ति बनाए पश्चात् त्यही बायाँ हात पनि काटिदिएपछि खुट्टाले धुलिखेल भगवती र शोभा भगवतीको मूर्ति तयार गरी कलिको दुनियाँमा नमुना प्रस्तुत गरेको बताइन्छ ।

वडा दशैको टिकाको दोस्रो दिन र बुद्ध जयन्तीको दोस्रो दिन पलाञ्चोकी देवीको मूर्तिमा चाँदिका गहनाले सजाइन्छ । पलाञ्चोक भगवती मन्दिरमा बुद्ध जयन्तीरचण्डी पुर्णीमाको दिन चौबिसै घण्टा खुल्ला गरिन्छ ।

तीन दिनसम्म चल्ने जात्रामा पहिलो दिन साँझ बत्ती बाल्ने, दोस्रो दिन चण्डीपूर्णिमा जात्रा र तेस्रो दिन रथयात्रा गर्ने चलन रहेको छ ।

राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा परम्परादेखि सँस्कृतिको संरक्षणार्थ मनाइँदै आएको जात्रामा दर्शनार्थी भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यस वर्ष पनि जात्राको परम्परालाई निरन्तरता दिँदै साँस्कृतिक कार्यक्रमको समेतको आयोजना गरिएको सोही वडाका वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।

नयाँ वर्षको बैशाख पूर्णीमामा हुने मेलाको कार्यतालिका तयः
कार्यक्रम नयाँ वर्षको बैशाख २८ गते आईतबारका दिन बेलुकारसाँझ पलाञ्चोक भगवती मन्दिरमा बृहत बत्ती बाल्ने, २९ गते सोमबारको विहान ११ बजे प्रमुख अतिथिबाट कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका तय भएको छ ।

उद्घाटन समारोहमा पाँचखाल नगर प्रमुख, उप(प्रमुख, कार्यपालिका सदस्यहरु १३ वटै वडा अध्यक्षहरु, प्रमुख जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका प्रमुख, शसस्त्र प्रहरीको पाँचखालका स्थानीय प्रमुख, नेपाली सेनाको स्थानीय प्रमुख लगायत छिमेकी पालिका प्रमुख उप(प्रमुखको समेत उपस्थिति रहने छ ।

बुद्ध जयन्तीरचण्डीपूर्णीमाको दिन लाग्ने जात्रालाई अझ विशेष बनाउन सोही अवसरमा कालिका, एकता, एकीकृत पहरी, पलाञ्चोक गैरीगाउँ क्लब र धन्द्रेखोला नेवा समाजले संयुक्त रुपमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने र ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुबाट साँकृतिक कार्यक्रम संञ्चालन गर्ने कार्यतालिका तय गरिएको र ३० गते दिउँसो १ बजे (रथ अवतरण) पश्चात कार्यक्रम समापन हुने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।