Dhulikhel Eco Banner new

सम्पत्ति शुद्धीकरण सम्बन्धी शंकास्पद कारोबारमा वृद्धि

2.55K
shares

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको संख्या तीव्र रूपमा वृद्धि भएको देखाएको छ। सन् २०२४ मा शंकास्पद कारोबारको संख्या अघिल्लो वर्षको तुलनामा झण्डै ४९ प्रतिशतले बढेर ९ हजार ३०४ पुगेको उल्लेख छ । सन् २०२३ मा ६ हजार २५५ मात्र थियो।

यो वृद्धि मनी लाउन्डरिङ निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूबाट प्राप्त रिपोर्टहरूमा आधारित हो । वित्तीय प्रणालीमा आपराधिक प्रवृत्ति बढ्दै गएको छ वा बैंक तथा वित्तीय संस्थाहरू शंकास्पद गतिविधिहरूप्रति बढी सतर्क बनेका छन्। ती रिपोर्टमध्ये १ हजार ८९४ वटाको विश्लेषण गरिएको थियो । जसमा १ हजार ८६ वटालाई अनुसन्धानको लागि सम्बन्धित निकायमा पठाइएको छ भने बाँकी ८०८ वटालाई भविष्यमा थप जानकारी प्राप्त भएपछि पुनः विश्लेषण गर्ने उद्देश्यले अभिलेखीकरण गरिएको छ।

साथै, राष्ट्र बैंकमा पेस गरिएका सीमा कारोबार विवरणको संख्या पनि वृद्धि भएको देखिन्छ। सन् २०२३ मा १७ लाख ८३ हजार १८३ कारोबार विवरण पेस गरिएकोमा सन् २०२४ मा यो संख्या बढेर १९ लाख ७२ हजार ८५५ पुगेको छ ।

प्रतिवेदनमा राष्ट्र बैंकको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्था, अनुसन्धान निकाय र नियामक निकायहरूको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ। सन् २०२३ को अन्त्यमा १ हजार ४९६ रहेको संख्या सन् २०२४ मा बढेर १ हजार ९०५ पुगेको हो ।

यो प्रतिवेदनले नेपालको वित्तीय प्रणालीमा मनी लाउन्डरिङको जोखिम अझै रहिरहेको र त्यसको निगरानी तथा नियन्त्रणमा सुधारको आवश्यकता स्पष्ट रूपमा देखाएको छ। शंकास्पद कारोबारको यो वृद्धि चेतावनीका रूपमा लिन सकिन्छ, जसले गर्दा नीति निर्माता र नियामक निकायहरूलाई अझ जिम्मेवार र प्रभावकारी कार्यान्वयनका लागि प्रेरित गर्नेछ।