Dhulikhel Eco Banner new

स्वास्थ्य बीमा बोर्डद्वारा १८० मेडिकल अधिकृत माग

2.55K
shares

काठमाडौं, १८ जेठ । स्वास्थ्य बीमा बोर्डले ९० दिनको लागि करार सेवामा १८० जना मेडिकल अधिकृत नियुक्त गर्न सार्वजनिक रूपमा विज्ञापन आह्वान गरेको छ। जनशक्ति अभावका कारण लामो समयदेखि रोकिएको मागदाबी रिभ्यु प्रक्रिया अघि बढाउन बोर्डले यो निर्णय गरेको हो।

उक्त पदका लागि एमबीबीएस उत्तीर्ण चिकित्सकले आवेदन दिन सक्नेछन्। योग्य उम्मेदवारहरूले सात दिनभित्र आवेदन दिनुपर्नेछ। नियुक्त भएका अधिकृतहरूले नेपाल सरकारद्वारा तोकिएको आठौँ तहअनुसारको सेवा सुविधा पाउनेछन्।

स्वास्थ्य बीमा बोर्डले विगत ११ महिनादेखि रोकिएको बीमा दाबीको रिभ्यु प्रक्रिया तीव्र बनाउन यी जनशक्ति खटाउने तयारी गरेको हो। हाल बोर्डमा २५ भन्दा बढी मेडिकल अफिसर, नर्स तथा फार्मासिस्टले रिभ्यु कार्यमा खटिएका छन्, तर जनशक्ति अपुग भएकोले अझै १६ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी प्रक्रिया रोकिएको बोर्डले जनाएको छ।

सरकारले १५ जेठको बजेट वक्तव्यमा सेवा प्रदायकको बक्यौता रकम चाँडै फरफारक गरिने प्रतिवद्धता जनाएसँगै बोर्डले रिभ्यु प्रक्रिया तीव्र पार्न अतिरिक्त जनशक्ति परिचालन गर्न लागेको हो।

यसअघि स्वास्थ्य सेवा विभागले छात्रवृत्तिमा अध्ययनरत ३० जना भन्दा बढी मेडिकल तथा नर्सिङ अधिकृतलाई रिभ्यु कार्यका लागि बोर्डमा खटाउने निर्णय गरिसकेको छ।

बोर्डले योग्य चिकित्सकहरूलाई तोकिएको समयावधिभित्र आवेदन दिन आग्रह गरेको छ।